यूएईविरुद्ध नेपाल ४२ रनले विजयी, लिग २ को पाँचौँ स्थानमा उक्लियो

यूएईविरुद्ध नेपाल ४२ रनले विजयी, लिग २ को पाँचौँ स्थानमा उक्लियो

नेपालले आईसीसी लिग २ क्रिकेटअन्तर्गत दुबईमा भएको खेलमा यूएईलाई ४२ रनले पराजित गरेको छ।  

त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईमा भ्रमणमा रहेको नेपाली राष्टिय टोलीले घरेलु टोलीलाई ४२ रनले पराजित गरेको हो। 

सिरिजको अन्तिम खेलमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएई ४५ ओभरमा १८७ रन बनाउँदा अल आउट भयो। 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २९ रनको योगफल तयार पारेको हो। 

छैटौँ विकेटका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनकै साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सन्दीप २७ रन बनाउँदा क्याच आउट भए। ४० बलको सामना गरेका उनले १ चौका हाने। 

सातौँ विकेटका लागि भीम र आरिफ शेखले ५६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ र्डोयाएका थिए। 

९९ बलको सामना गरेका भीम ७ चौका हान्दै ७० रन बनाएर बोल्ड आउट भए। 

उनी रोहन मुस्तफाको बलमा बोल्ड भएका हुन्। वन डे क्रिकेटमा भीमले करियरको पहिलो अर्धशतक प्रहार गरे। 

ओपनर ज्ञानेन्द्र मल्ल ११ रनमा एलबीडब्लु धरापमा परे। आशिफ शेख ६ रनमा क्याच आउट भए। 

कुशल मल्लले ३२ रन बनाउँदा रोहन मुस्तफाले बोल्ड आउट गरे। दीपेन्द्र सिंह ऐरी ४ र रोहित पौडेल १ रनमा आउट भए। करण केसीले ११ बलमा १ चौका र १ छक्का हान्दै १७ रनमा आउट भए। 

आरिफ शेख ४३ र प्रतिश जिसी ११ रनमा नटआउट रहे। ५६ बलको सामना गरेका आरिफ १ चौका र १ छक्का हान्दै ४३ रन बनाए। ६ बलको सामना गरेका प्रतिश १ चौका हान्दै ११ रन बनाए। 

युएईका जुनैद सिद्दीकीले तिन विकेट लिए। रोहन मुस्तफा र आर्यन लात्राले समान २ विकेट लिए। कार्तिक मैइयाप्पनले एक विकेट झारे।