आफ्नै पाँच बच्चाको ज्यान लिएकी महिलालाई दिइयो इच्छामृत्यु

आफ्नै पाँच बच्चाको ज्यान लिएकी महिलालाई दिइयो इच्छामृत्यु

आफ्ना पाँच सन्तानको हत्या गरेकी बेल्जियमकी एक महिलालाई उनकै आग्रहमा इच्छामृत्यु दिइएको छ। बालबच्चाको हत्याको १६ वर्षपछि उनले ज्यान दिने निर्णय लिएकी हुन्।

सन् २००७ को फेब्रुअरी २८ मा जिनेभिव लरमिटले पति घरमा नभएका बेला एक छोरा र चार छोरीको हत्या गरेकी थिइन्। उनीहरु तीनदेखि १४ वर्षबीचका थिए। 

त्यसपछि उनले पनि आत्महत्याको प्रयास गरेकी थिइन्। तर, असफल भएपछि उनले आपतकालीन सेवा बोलाएकी थिइन्।

२००८ मा उनलाई आजीवन कैद दिइएको थियो। २०१९ मा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई मानसिक अस्पताल सारिएको थियो।

बेल्जियममा निको नहुने र सहन नसकिने शारीरिक मात्र होइन, मानसिक समस्या भएका व्यक्तिले पनि इच्छामृत्यु रोजे दिइने व्यवस्था छ।

तर, त्यस्तो निर्णय लिने व्यक्ति आफ्नो निर्णयप्रति सचेत हुनुपर्ने र तिनले तर्कयुक्त तरिकाले आफ्नो इच्छा प्रकट गर्नुपर्ने सर्त छ।

जिनेभिवले ‘आफ्ना सन्तानप्रतिको सांकेतिक सम्मानस्वरुप’ फेब्रुअरी २८ कै दिन यस्तो निर्णय लिएको हुनसक्ने मनोचिकित्सक एमिली म्यारियटले बताएकी छन्।

‘सायद उनी आफूले सुरु गरेको कुरा अन्त्य गर्न चाहन्छिन्। बालबच्चाको हत्या गर्दा पनि खासमा उनी आत्महत्या गर्न चाहन्थिन्,’ उनले भनिन्।

आमाद्वारा पाँच बालबच्चाको हत्या र त्यसपछिको अदालती सुनुवाइले बेल्जियममा सनसनी मच्चाएको थियो।

उनका वकिलले जिनेभिव मानसिक रोगी भएकाले उनलाई जेल पठाइनु नहुने तर्क गरेका थिए। तर, जुरीले उनलाई योजनाबद्ध हत्या गरेको भन्दै जेल हाल्यो।

२०१० मा उनले आफ्ना पूर्वमनोचिकित्सकविरुद्ध मुद्दा हालेकी थिइन्। मनोचिकित्सकको निष्क्रियताका कारण हत्या हुनबाट बचाउन नसकेको उनको दाबी थियो। दस वर्षपछि उनले सो कानुनी लडाइँ छाडिन्।

२०२२ मा बेल्जियममा २ हजार ९६६ जनालाई इच्छामृत्यु दिइएको छ।

यसरी इच्छामृत्युका लागि आग्रह गर्नेमध्ये सबैभन्दा बढी क्यान्सरका रोगी हुन्छन्। २०१४ देखि बेल्जियमले निको नहुने रोग लागेका बालबालिकालाई पनि अभिभावकको सहमतिमा इच्छामृत्युको अनुमति दिएको छ। बीबीसी