तेह्रथुममा भीषण आगलागी: १४ घर जलेर नष्ट,दुई बालकको मृत्यु

तेह्रथुममा भीषण आगलागी: १४ घर जलेर नष्ट,दुई बालकको मृत्यु

काठमाडौं । आगलागीमा परेर पाँचथरमा दुई बालकको मृत्यु भएको छ। हिलिहाङ गाउँपालिका-७ यवाडाँडाका स्थानीय प्रेम पन्थाकको घरमा लागेको आगोमा परी शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निशानको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए। घटनास्थल पुगेका उनका अनुसार मृतक निशान मामाघर आएका थिए भने छिमेकीका छोरा सेसेहाङ निशानसँगै खेलिरहेका थिए।

दिउँसो अभिभावक घरमा नभएका वेला खेलिरहेका वेला आगलागी भएको अनुमान गरिएको छ। दुवै बालकको शव घरको माथिल्लो तलामा जलेर चिन्न नसकिने अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए। आगलागीको कारण भने खुलिसकेको छैन। घटनास्थल पुगेका प्रहरीसहितको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको गैरेले बताए।​

यसैगरी तेह्रथुमको आठराई गाउँपालिका(६ चुहानडाँडाको सामुदायिक वनबाट सल्किएको आगोमा परी १४ घर जलेर नष्ट भएका छन्। जंगल नजिकैको बस्तीमा रहेका फुसका घर जलेर नष्ट भएको तेह्रथुमका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिए।

उनका अनुसार नष्ट भएका केही घरमा मात्रै मानिस बसोवास गरिरहेका थिए। प्रहरीको सहायतामा मानव बस्ती वरपर सुरक्षा रेखा बनाइएको छ। बस्ती आगलागीको जोखिम बाहिर रहेको प्रहरीले दाबी गरेको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।