लगातार तेस्रो जितसँगै डिसिए फाइनलमा

लगातार तेस्रो जितसँगै डिसिए फाइनलमा

धनगढी । लगातार तेस्रो जितसँगै धनगढी क्रिकेट एकेडेमी (डिसीए) भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डिसिएले बुधबार देवदह क्रिकेट एकेडेमीलाई २९३ रनको भारी अन्तरले पराजित गरेको हो । 

यसअघि डिसिएले बुटबलको न्यू होराइजन एकेडेमी र काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टरलाई पराजित गरेको थियो । 

देवदहसँग टस जितेर पहिले ब्याटिङ गरेको डिसिएले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर ३१५ रन बनाएको थियो । जवाफमा देवदहले १३।३ ओभरमा सबै विकेट गुमाएर २३ रनमात्रै बनाउँन सक्यो । 

देवदहका सवोत्तम सुनारले ८ रन बनाउँनुबाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । डिसिएका सौर्य श्रेष्ठले ७ विकेट लिए । उनले ६.१ ओभरमा १ ओभर मेडन राख्दै १० रनमात्रै खर्चिएर उत्कृष्ट बलिङ गरेका थिए । यस्तै निरज ऐरले २ विकेट लिए । उनले ७ ओभरमा २ ओभर मेडन राख्दै १२ रनमात्रै खर्चिएका थिए । 

त्यसअघि डिसिएका निशान रेग्मीले ११३ रनको शतकीय पारी खेलेका थिए । उनले १०१ बलमा उक्त पारी खेलेका हुन् । त्यसबाहेक अजय कडालले ६३ रन जोडे । 

खेलको म्यान अफ द म्याच डिसिएका निशान रेग्मी भए । यस्तै ७ विकेट लिएका सौर्य श्रेष्ठले म्याच बल पाए । 

पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सञ्चालन गरेको स्टार क्रिकेट एकेडेमीले भैरहवामा प्रतियोगिता आयोजना गरेको हो ।