गौरीगंगा स्पोर्ट्स क्लबको प्रथम साधारण सभा सम्पन्न

गौरीगंगा स्पोर्ट्स क्लबको प्रथम साधारण सभा सम्पन्न

धनगढी । गौरीगंगा स्पोर्ट्स क्लबको प्रथम साधारण सभा सम्पन्न भएको छ । मङ्गलवार नगरपालिकाको बढैपुरमा साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभाका  प्रमुख अतिथि समेत रहेका गौरीगंगा नगरपालिका नगर प्रमुख देवीदत्त कडेलले नगरको विकास गर्न एक ठाउँबाट सम्भव नभएकोले  नगर क्षेत्रमा सबै युवायुवतीलाई खेलकुद हबमा विकास गर्न योजना बनाइ  सहभागिता, सहकार्य, लगानीमा नगर क्षेत्रको विकासमा लागि अगाडि बढ्नु पर्ने बताएका छन् ।

कडेलले सबै जना एक भए मात्र आवश्यकताको पहिचान गरेर सबैसँग हातेमालो गरी नगरलाई सभ्य समाजको निर्माण गरी पहिचान बनाउन सक्ने बताए । क्लबले खेल खेलाएर  प्रदेश र राष्ट्रिय स्तरमा खेलकुदको पहिचान बनाएकोले प्रशंसा समेत गरेका छन् ।  

यस्तै, विशिष्ट अतिथि नगर उप-प्रमुख भोज बहादुर बमले गौरीगंगा नगरपालिका खेलकुदमय होस भनेर हरेक खेलकुदलाई सँगसँगै लगेर अगाडि बढाउने प्रयत्नमा रहेको बताउँदै खेलकुदको विकासको निम्ति हबको रूपमा विकास गर्न नगरले बजेट विनियोजन गरेको समेत जानकारी गराए ।   

त्यस्तै, सभामा क्लबलाई खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकाले गौरीगंगा ८–का अशोक जोशी र विमल चौधरीलाई प्रमाणपत्र सहित प्रमुख अतिथिले सम्मान गरेका थिए । 

उक्त कार्यक्रममा गौरीगंगा नगरपालिका वडा १ का अध्यक्ष डबल बहादुर दिया कोटी, मसुरिया एकेडेमीका अध्यक्ष ध्वज बहादुर खाती,मसुरिया ब्याडमिन्टन क्लबका अध्यक्ष चक्र बहादुर कलेल,डिल्लीराम आचार्य, चन्द्र बम र टेक राज ओझा लगायतका व्यक्तिले शुभकामना तथा सुझाव मन्तव्य राखेका थिए । 

यसै गरी सभामा आ.व.२०७४÷२०७५ र २०७५÷२०७६ को १८ लाख ३२ हजार २५० रुपियाँ आय र २४ लाख २३ हजार २९० खर्च प्रस्तुत गरिएको थियो । क्लबका अध्यक्ष दिनेश कलेलको सभापतित्वमा सम्पन्न भएको थियो ।