स्कटल्याण्डले नेपाललाई दियो २ सय १३ रनको लक्ष्य

स्कटल्याण्डले नेपाललाई दियो २ सय १३ रनको लक्ष्य

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि जर्ज मुन्शेले अर्धशतकीय पारी खेले । 

५० बलको सामना गरेका उनले ९ चौका र २ छक्कासहित ६० रन बनाए । त्यस्तै, म्याथ्यू क्रसले ४२, ब्रान्डन म्याकमुलेनले ३१, क्रिस्टोफर म्याकब्राइड र कायल कोट्जरले २२–२२ रन जोडे । 

नेपालका लागि प्रमुख बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ४५ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । सन्दीपले कायल कोट्जर (२२), जर्ज मुन्शे (६०), कप्तान रिची बेरिङ्टन (०) र टमस म्याकिन्टोस (१) को विकेट लिएका हुन् । झण्डै ६ महिनापछि मैदान फर्किएका उनले यो सिरिजमा ४ खेलमा १३ विकेट लिए ।  

त्यस्तै, स्कटल्याण्डविरुद्ध करण केसीले तीन, कुशल मल्ल र ललितनारायण राजवंशीले एकरएक विकेट हात पारे । सिरिजमा नेपाल लगातार चौथो जित निकाल्दै नयाँ उपलब्धि हासिल गर्न चाहन्छ । हालसम्म लिग–२ सिरिजमा नेपालले सिरिजको चारवटै खेल जित्न सकेको छैन । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै नयाँ उपलब्धि हासिल गर्ने योजनामा छ ।