सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादी सम्मानित

सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादी सम्मानित

केही समयअघि एकल डेउडा गायन मार्फत काठमाडौंमा तहल्का मच्चाएकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले पुरस्कृत गरेको छ। उसले उनलाई  सोमबार काठमाडौंमा ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको हो । सम्मानमा नगद ११ हजार १ सय ११ रुपैयाँ र कदरपत्र छ ।

बादीले लोकगीतमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए । कार्यक्रममा गीतकार यादव खरेल र कवि पुष्पा खनाले उनलाई कदरपत्र र नगद प्रदान गरेका थिए ।

सुदूरपश्चिममा ठाडी भाका गायन मार्फत लामो समयसम्म एक छत्र राज गरेकी लोकगायिका डीक्रा पछिल्लो एक दशकदेखि गुमनाम थिइन् ।

उनलाई पर्यटनकर्मी युवाहरुको संस्था ‘कन्सेप्ट नेपाल’ले काठमाडौं झिकाएर ११ फागुन २०७५ का दिन राष्ट्रिय नाचघरमा एकल डेउडा गायन कार्यक्रम गरेको थियो । त्यस लगत्तै उनको चर्चा चुलिएको छ । माग बढेको छ ।  

कार्यक्रममा गायिका डीक्राले केही गीत गाएर सुनाएकी थिइन् । अधिकारकर्मी दूर्गा घिमिरेको समूहले उनलाई पुरस्कारका लागि छानेको थियो ।

डीक्रालाई सम्मान गरे लगत्तै कवि पुष्पाको गीत संग्रह ‘गह पोखिएर’ बिमोचन गरिएको थियो । समाजले छापेको पुस्तकमा ९३ वटा गीत छन् । त्यही क्षण  उनको ‘आमा’ शीर्षक गीतको म्युजिक भिडियो पनि लोकापर्ण गरियो । सार्बजनिक गरिएको थियो । बिन्दु परियारको स्वर, लक्ष्मण शेषको संगीत रहेको म्युजिक भिडियोको निर्देशन निर्मल शर्माले गरेका हुन् ।