सनी देवल भाजपामा प्रवेश, पञ्जाबवाट चुनाव लड्दै

सनी देवल भाजपामा प्रवेश, पञ्जाबवाट चुनाव लड्दै

बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । दिल्लीमा रक्षा मन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलको उपस्थितिमा उनले पार्टीको सदस्यता लिएका हुन् ।

कुनै समयका चर्चित अभिनेता सनी देओल पञ्जाबको गुरदासपुर क्षेत्रबाट लोकसभा चुनाव लड्ने अनुमान गरिएको छ । गुरदासपुर क्षेत्रबाट अभिनेता विनोद खन्ना चुनाव लड्दै आएका थिए । उनको निधनपछि २०१७ को उपचुनावमा कांग्रेसका सुनील जाखडले चुनाव जितेका थिए ।

सनी देओलका बुवा अभिनेता धर्मेन्द्र २००४ देखि २००९ सम्म राजस्थानको बीकानेरबाट भाजपा सांसद थिए । उनकी पत्नी हेमा मालिनी मथुराबाट सांसद थिइन् । अभिनेत्री हेमा मालिनी यस पटक फेरि मथुराबाटै चुनाव लड्दै छिन् ।

सनी देओल आफ्नो समयमा बलिउडका लोकप्रिय अभिनेता हुन् । उनी ‘एक्सन हिरो’ का रुपमा चिनिन्छन् । उनले १९८२ मा फिल्म ‘बेताब’ बाट करिअर सुरु गरेका थिए । १९९० मा प्रदर्शित फिल्म ‘घायल’ बाट उनको लोकप्रियता एकाएक बढेको थियो । ‘दामिनी’, ‘गदर’, ‘हिरो’, ‘अपने’ सनी देओलका चलेका फिल्म हुन् ।