नामिबियाले दियो नेपाललाई २७५ रनको लक्ष्य

नामिबियाले दियो नेपाललाई २७५ रनको लक्ष्य

काठमाडौँ । नेपालले विश्वकप लिग २ मा शनिबार नामिबियाविरुद्धको खेल जित्न २ सय ७५ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले लगातार तेस्रो पटक टस जितेपछि ब्याटिङको निम्ता पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७४ रन बनायो ।

जेन ग्रिनले अविजित अर्धशतक बनाएपछि नामिबियाले प्रतिस्पर्धात्मक स्कोर बनाएको हो । उनले कुल ६३ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै अविजित ७५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो । उनले पिकी या फ्रान्ससँग छैटौं विकेटमा ९४ रनको साझेदारी गरे । फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे ।

रुबेन ट्रम्पलमेन ७ बलमा २४ रन बनाई अविजित रहे । उनले ३ चौका र २ छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा करण केसीलाई ४ चौका र १ छक्कासहित २५ रन बनाए, जसमा ३ अतिरिक्त रन थियो ।

ओपनर लो हन्ड्रे लवरेन्सले ४१ रन बनाए । उनले ५४ बल खेली ८ चौका प्रहार गरे । कार्ल बिर्केनस्टोकले २० र माइकल भान लिङगेनले २२ रन बनाए । कप्तान गेहराड इरास्मस र जान निकोल इटेन समान १५ रनमा आउट भए । नेपालबाट सन्दीप लामिछानेले ३ र करण केसीले १ विकेट लिए ।

नेपालले अघिल्लो दिन स्कटल्यान्डविरुद्धको खेल २ सय ७५ र नामिबियाविरुद्धको पहिलो खेल २ सय ८७ रन बनाउदै विजय लक्ष्य पछ्याएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विजय लक्ष्य पछ्याउदै रनमा विजय हात पारेको यी शीर्ष दुई विजय हो ।

नेपालले पहिलो दुई खेलमा नामिबियालाई २ विकेटले र अघिल्लो दिन स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । नामिबिया पहिलो दुबै खेलमा पराजित भएको थियो । पछिल्लो खेलमा नामिबियाले स्कटल्यान्डसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो ।

स्कटल्यान्डसँगको शुक्रबारको खेलबाट नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन । नामिबियाले पनि पछिल्लो खेलमा खेलेको टोलीलाई यथावत राखेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडी तेस्रो स्थानमा र नेपाल २६ खेलमा २२ अंकसहित सात राष्ट्र सहभागि लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले बाँकी रहेको १० खेलमध्ये ७ मा विजय हात पार्नुपर्ने अवस्था छ ।