निर्मला हत्याकाण्ड : नौ महिना बित्दा पनि दोषी पत्ता लागेन, स्थानीयले प्रधानमन्त्री गुहारे

निर्मला हत्याकाण्ड : नौ महिना बित्दा पनि दोषी पत्ता लागेन, स्थानीयले प्रधानमन्त्री गुहारे

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बित्दा पनि हत्यारा पत्ता नलागेको भन्दै स्थानीय नागरिक संघर्ष समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

निर्मलाको न्यायका लागि आन्दोलन गर्दै आएको नागरिक संघर्ष समितिले आज कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार बैद्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा हत्याकाण्डको ९ महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको र हत्यारा पहिचान गर्न पटक पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दा समेत वेवास्ता गरिएको उल्लेख गरिएको छ ।

यस्तै उच्च स्तरिय छानविन समितिले दोषी देखाइएका व्यक्तिहरुमाथी थप छानविन गर्नुपर्ने माग समेत गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बैद्यले ज्ञापनपत्र प्रधानमन्त्री समक्ष बुझाउने बताउदै निर्मलाको न्यायका लागि आमनागरिकले उठाएको आवाज जायज भएको र घटनाका विषयमा त्यसमा अनुसन्धान जारी रहेको बताए ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गरेर फर्किने क्रममा हराएकी निर्मलाको भोलिपल्ट ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो । अनुसन्धानका लागि विभिन्न आयोग गठन भएपनि दोषीको पहिचान हुन सकेको छैन ।