लोटस आइ र सत्यवती एकेडेमी एलपीएलको फाइनलमा

लोटस आइ र सत्यवती एकेडेमी एलपीएलको फाइनलमा

धनगढी । कैलालीको अत्तरियाको लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालय स्तरीय यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) सातौं संस्करणको फाइनलमा प्रवेश गरेका छन् । लोटस आइले आयोजक लिटल फ्लावर बोर्डिङ हाइ स्कुललाई र सत्यवतीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् । 

बिहीबार पहिले सेमिफाइनल खेलमा लिटल फ्लावरलाइ ७२ रनले पराजित गरी लोटस आइ उपाधि नजिक पुगेको हो । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लोटस आइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको चुनौतीपूर्ण लक्ष पछ्याएको लिटल फेलावरले १९.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । उसका सुवास ऐरले २६ र वसन्त कार्कीले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङ तर्फ लोटसका आयुब चन्द , सुशील रावल र नरेन साउदले समान ३/३ विकेट लिए । 

त्यस अघि पहिलो इनिङमा लोटसका आयुब चन्दले ४९, योगेश भाटले अविजित २८ र लक्की कडायतले २५ रन बनाएका थिए । बलिङ तर्फ लिटलका आशिष साहुले ३ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका आयुब चन्द चुनिए । 

दोस्रो सेमिफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सत्यवती एकेडेमीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई ५ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ थालेको बालबाटिका १८.४ ओभरमा अलआट हुँदै  १११ रन मात्रै बनाउन सफल भयो । १ सय १२ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको सत्यवतीले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका प्रतीक श्रेष्ठले अविजित ३७ र अभिषेक कार्की १९ रन बनाएर आउट हुँदा खगेन्द्र जोशीले १७ रन बनाए । बलिङ तर्फ बालबाटिकाका गजेन्द्र बोहरा र रिजन थापाले २/२ विकेट लिए । 

त्यस अघि बालबाटिकाका लागि विराट भण्डारीले ३३ र नर बहादुर सार्कीले ३२ रन बनाए । बलिङ तर्फ सत्यवतीका नीरज भट्ट र जीत साउदले समान २र२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रतीक श्रेष्ठ चुनिए । 

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी  प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकको भनाई छ ।