इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
राजस्थानलाई उसकै घरेल मैदानमा ६ विकेटले हराएको दिल्ली १४ अंकसहित लिग लिडर बन्न सफल भएको हो । एक खेल कम खेलेको चेन्नाई सुपर किंग्ससँग अंक बराबरी भएपनि रनरेटका आधारमा दिल्ली शीर्ष स्थानमा पुगेको हो ।
११ खेल खेलेको दिल्ली ७ मा विजयी भएको छ भने ४ मा हार व्यहोरेको छ । चेन्नाईले १० खेल खेलेको छ । उसले समान ७ खेलमा जित हात पारेको छ । सोमबारको खेलमा राजस्थानले प्रस्तुत गरेको १९२ रनको लक्ष्य दिल्लीले चार बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टाएको थियो ।
दिल्लीका लागि ऋषभ पन्तले ३६ बलमा ६ चौका र चार छक्काको सहयोगमा नटआउट ७८ रन बनाए । यस्तै शिखर धवनले २७ बलमा आठ चौका र दुई छक्काको सहयोगमा ५४ तथा पृथ्वी शवले ३९ शलमा चार चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए ।
राजस्थानका श्रेयश गोपालले दुई विकेट लिए । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ्ग गरेको राजस्थानले अजिन्क्या रहानेको शतकीय पारीको सहयोगमा ६ विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।
रहाणेले ६३ बलमा ११ चौका र तीन छक्काको सहयोगमा १०५ रन बनाएका थिए । यस्तै कप्तान स्टिव स्मिथले ३२ बलमा ५० रन बनाएका थिए । दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । राजस्थानविरुद्धको खेलमा दिल्लीले नेपाली युवा खेलाडी सन्दीप लामिछानेलाई बेन्चमै राखेको थियो ।