बैतडीमा मैदानविना खेल प्रतियोगिता

बैतडीमा मैदानविना खेल प्रतियोगिता

बैतडी । बैतडीका स्थानीय तहमा धमाधम पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् । रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेकाले जिल्ला खेलकुदमय भएको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिने प्रतियोगिता उपयुक्त खेलमैदानविनै भइरहेका छन् । प्रतियोगिताका खेल राजमार्ग बन्द गराएर सडकमा, मन्दिर प्राङ्गण, विद्यालयको चौरमा भइरहेका छन् । पालिकामा उपयुक्त मैदान नहँुदा प्रतियोगिताका खेल सडक, मन्दिर र चौरमा गराउनुपर्ने बाध्यता छ ।

स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकता तथा खेल पूर्वाधार निर्माणमा ध्यान नदिँदा यस्तो समस्या आएको हो । खेलकुदका गतिविधि सञ्चालनका लागि उपयुक्त खेल मैदान आवश्यक पर्ने भए पनि खेलमैदान विनै प्रतियोगिता सञ्चालन भइरहेका हुन् । उपयुक्त खेलमैदान विनै सञ्चालनमा रहेको प्रतियोगितामा खेलाडीले आफूले चाहेको प्रदर्शन गर्न नसक्ने र चोटपटकको सम्भावना पनि उच्च हुन्छ ।

यहाँका केही स्थानीय तहले पालिकास्तरीय खेलमैदान निर्माण गरे पनि खेल्न लायक छैनन् । स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, दौडलगायत खेल भइरहेका छन् । हालै जिल्लाको दोगडाकेदारमा सम्पन्न रनिङ शिल्ड प्रतियोगिताअन्र्तगत केही खेल सडकमै सम्पन्न गरिएका छन् ।

दोगडाकेदार–७ मा रहेको चनैराज खेलमैदानमा प्रतियोगिता सञ्चालनको स्थान तोकिए पनि सानो र उपयुक्त नहुँदा केही प्रतिस्पर्धा महाकाली राजमार्गमा चक्काजाम गरेर गराइएको थिए । प्रतियोगिताअन्तर्गत दौडको प्रतिस्पर्धा राजमार्गको खोचलेक–सिल्लेगडा सडकखण्डमा गरिएका हुन् । दौड सञ्चालन हुँदा राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको थियो । कालोपत्रे सडकमा दौडमा भाग लिँदा एक खेलाडी घाइते भएकी थिइन् ।

दोगडाकेदार–२ मा रहेको रौलेश्वर माविकी खेलाडी हिरा कुँवर दौडिने क्रममा लडेर घाइते भएकी थिइन् । लडेर घुँडामा चोड लागेकी कुँवरलाई मोटरसाइकलमा राखेर उपचार गराइएको थियो । मेलौलीमा सम्पन्न शिल्ड प्रतियोगिता मेलौली भगवती मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ । पालिकास्तरीय खेलमैदान निर्माण गरिएको भए पनि खेल्नका लागि उपयुक्त नभएकाले मन्दिरमा प्रतियोगिता गराइएको खेलकुद विकास समिति मैलौलीका अध्यक्ष शङ्कर भण्डारी सागरले बताए ।

जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालनमा रहेको रनिङ शिल्ड प्रतियोगिता विद्यालयका खेलमैदानमा भइरहेका छन् । पढाइ सँगसँगै खेलकुद पनि महत्त्वपूर्ण रहेकाले स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउन जरुरी देखिएको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । उनले भने, “विद्यालय भनेको विश्वमा देशलाई चिनाउन खेलाडी उत्पादन हुने जग हो । खेलकुदका लागि पालिकाले खेल पूर्वाधारका साथै अन्य खेल थप्नुपर्छ । साथै खेल शिक्षक र प्रशिक्षण पनि आवश्यक छ ।”

स्थानीय तहले खेलकुद र खेल पूर्वाधार निर्माणमा ध्यान नदिँदा यस्तो समस्या आएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारीले बताए । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारा दिइएको भए पनि उपयुक्त खेलमैदान नहुँदा खेलाडीले आफूले चाहेअनुसार प्रदर्शन गर्न सकेका छैनन् । उनले भने, “खेलाडी उत्पादनको मुख्य आधार विद्यालय रहेको भए पनि यहाँका पालिकाले खेल क्षेत्रमा कुनै चासो दिएका छैनन् ।”

खेलमैदान निर्माण गर्न कुनै चासो नदिएका पालिकाले कमिशन आउने सडकलगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको भण्डारीको आरोप छ । उहाँले भन्नुभयो, “खेल पूर्वाधारका लागि पालिकाले चासो दिएका छैन । कमिशन आउने सडक लगायतका अन्य पूर्वाधार निर्माणमा मात्रै ध्यान छ ।”

प्रतियोगिताले विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्ने र उत्कृष्ट गर्ने खेलाडीका लागि माथिल्लोस्तरको प्रतियोगितामा सहभागिताका लागि ढोका खुल्ने भए पनि उपयुक्त मैदान नहुँदा चाहेअनुसार प्रदर्शन गर्न असहज भएको छ । खेलमैदान अभावमा सडकमा दौड प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता आएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । निकट भविष्यमै लबलेकमा निर्माणाधीन पालिकास्तरीय खेलमैदान निर्माण सम्पन्न गरी खेल्नयोग्य बनाउने कार्कीको भनाइ छ ।

जिल्लाको मेलौली नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा शिल्ड प्रतियोगिता सम्पन्न भइसकेका छन् । आइतबारदेखि पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी, सिगास र सोमबार पञ्चेश्वर गाउँपालिकामा रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । यसका साथै फागुन ३ गते दशरथचन्द नगरपालिका र फागुन ७ गतेदेखि सूर्नया गाउँपालिकामा रनिङ शिल्ड प्रतियोगिताको तयारी रहेको छ ।

यहाँका पालिकामा माघ २५ गतेदेखि सुरु भएका शिल्ड प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । पालिकास्तरीय रनिङ शिल्ड सम्पन्न भएपछि फागुन दोस्रो सातापछि जिल्लास्तरीय प्रतियोगिताको तयारी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।