धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सभाका सभामुख दलीय रुपमा निष्पक्ष हुन नसकेको बताएको छ ।
नया बर्षको अवसरमा सोमबार संसदीय दलद्वारा आयोजित चियापान कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले प्रदेश सभा सञ्चालनका क्रममा सभामुख अर्जुन बहादुर थापाको दलीय निष्पक्षता देख्न नपाइएको बताउनुभएको छ ।
उहाँले राजधानी तोक्ने र प्रदेशको नामकारण गर्ने सन्दर्भमा सभामुखको निष्पक्षता नदेखिएको र सभाभित्रका धेरै गतिविधि सञ्चालन गर्दा दलीय आवद्धता बढी देखिने गरेको डा. रावलको आरेप छ ।
पछिल्लोपटक प्रदेश सभा सचिव र सचिवालय ब्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सचिवालय ब्यवस्थापन समितिमा सदस्य रहेको प्रमुख प्रतिपक्षी दलको नेता हटाउने कार्य हुँदा समेत समाभुख नबोल्नुले सभाको नेतृत्व भन्दा पनि सभामुख दलीय स्वार्थमा रहेको देखिन आएको डा. रावलको आरोप छ । सभामुख थापाले सत्तापक्षीय दलका नेताहरुको स्वार्थ अनुसार गतिविधि गरिरहेको समेत आरोप लगाउनुभएको छ ।