प्रदेश र स्थानीय तहको बजेट खर्च गर्ने क्षमता कमजोर : सुरेन्द्र पाण्डे

प्रदेश र स्थानीय तहको बजेट खर्च गर्ने क्षमता कमजोर : सुरेन्द्र पाण्डे

धनगढी : पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्ध भत्ता बढाउने बताउनु भएको छ ।

नेता पाण्डेले सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हरेक समयमा बितरणमुखी बजेट बनाउन नसकिने र बनाउँदा अर्थतन्त्रका परिसूचकहरुमा नकारात्मक असर पर्ने भएकोले सरकारले चालू आर्थिक बर्षको बजेटमा लोकप्रिय कार्यक्रम समावेश नगरेको बताउनुभयो ।

चालू आर्थिक बर्षमा उतपादनको क्षेत्रमा बढी जोड दिइएकोले आगामी आर्थिक बर्षमा बिरणमा केही कार्यक्रम ल्याइने जानकारी आफुले पाएको र सरकारले बृद्ध भत्तामा केही बढोत्तरी गर्ने संकेत दिएको उहाँले बताउनुभयो । मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकार र स्थानीय सरकारहरुसित पर्याप्त बजेट रहेको बताउँदै नेता पाण्डेले स्थानीय तह र प्रदेश सरकारहरुले बजेट पाइएन भनेर चिन्ता गर्नुभन्दा पाएको बजेट कसरी खर्च गर्ने भन्ने तर्फ सोच्नुपर्ने बताउनुभयो।

उहाँले भएको बजेट खर्च गर्ने क्षमता बढाउने तर्फक प्रदेश सरकारहरु लाग्नुपर्ने बताउनुभयो । कर्मचारीहरुको फटाफट हुने सरुवाका कारण बजेट खर्च हुन नसकेकोले तीनवटै तहका सरकारहरुको खर्च गर्ने क्षमता बढाउन कर्मचारीको स्थायीत्व हुनुपर्ने पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पाण्डेको भनाई छ । 

मुलुकमा केही पनि भएन भन्ने निराशावादी सोच त्याग्नुपर्ने बताउँदै उहाँले सरकारको सहयोगका कारण नेपाल अहिले सिमेन्ट को उत्पादनमा आन्तरिक खपत गरेर निर्यात गर्नसन्ने गरी उत्पादन गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । पूर्वाधारको विकासमा भइरहेको काम सम्पन्न नहुँदा सम्म परिणाम नदेखिने हुँदा हाल केही नभएकोजस्तो देखिए पनि सरकारले पूर्वाधारको विकासमा काम गरिरहेको उहाँको भनाई छ ।