दिल्लीलाई शीर्ष स्थानमा उक्लिने मौका, सन्दीपको प्रवल सम्भावना

दिल्लीलाई शीर्ष स्थानमा उक्लिने मौका, सन्दीपको प्रवल सम्भावना

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिने मौका मिलेको छ।

आइतबार राजस्थान रोयल्सलाई हराएको खण्डमा दिल्ली लिगमा ११ खेल खेल्दै १४ अंकसहित शीर्ष स्थानमा उक्लिनेछ।

आईपीएलको ४० औं र आफ्नो ११ औं खेलमा दिल्लीले राजस्थानको सामना गर्न लागेको हो। राजस्थानको घरेलु मैदान सवाई मानसिंह रंगशालामा जयपुरमा हुने खेल नेपाली समयअनुसार राति ८:१५ बजे सुरू हुनेछ।

दिल्ली शीर्ष स्थानमा पुग्ने रणनीतिका साथ मैदान उत्रँदा राजस्थान चौथो जितको खोजीमा छ। प्रतियोगितामा १० खेलबाट ६ खेलमा जित र ४ मा हारको नतिजासहित १० अंकका साथ दिल्ली लिग तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट १० अंक रहेको मुम्बई इन्डियन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ। चेन्नई १४ अंकसहित शिर्षस्थानमा छ । एक खेल कम खेलेको राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। यदि आजको खेलमा दिल्लीले राजस्तानलाई हराए रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिन सक्नेछ। आजको जितपछि प्लेअफमा पुग्न दिल्लीलाई मात्र एक जितको कमि हुनेछ।

दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स बिच अहिलेसम्म कुल १८ खेल भएका छन्। जसमा दिल्लीले ७ पटक जित्दा ११ पटक राजस्तानले जितेको छ।  तर पछिल्लो समय निकै लयमा रहेको दिल्ली राजस्तानविरूद्ध हाबी हुने अपेक्षा गरिएको छ।

आजको खेलमा दिल्लीले नेपाली युवा लेग स्पिनर लामिछानेलाई प्लेइङ–११ मा समावेश गराउने सम्भावना प्रबल छ।

अघिल्लो खेलमा किङ्स–११ पन्जाबविरुद्ध ३ विकेट लिएका सन्दीप आज पनि टिममा पर्ने सम्भावना बढेको हो। सुरुआती ४ खेलका समावेश भएपनि त्यसपछि ३ खेलमा सन्दीपले निरन्तर टिममा स्थान बनाएका थिएनन् ।

दिल्लीको सम्भावित प्लेइङ–११

शिखर धवन, पृथ्वी शाह, कप्तान श्रेयस ऐयर, रिसभ पन्त, कोलिन इन्ग्राम, अक्सर पटेल, अमित मिश्रा, शेरफन, कागिसो रबडा, इशान्त शर्मा र सन्दीप लामिछाने

राजस्थानको सम्भावित प्लेइङ–११

अजिन्क्या रहाने, सन्जु सामसन, कप्तान स्टेभन स्मिथ, बेन स्ट्रोक्स, रियाल पराग, आसटन टुर्नर अथवा लियम लिभिङस्टोन, स्टुर्ट, जोफ्रा आर्चर, श्रीयस गोपाल, जयदेभ उनाकान्त, धवल कुलकर्नी