आइसिसी महिला  टी–२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

आइसिसी महिला  टी–२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

काठमाडौँ । श्रीलंकाले आइसिसी महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।  

घरेलु टोली दक्षिण अफ्रिकाले भने प्रतियोगितामा हारबाट सुरुवात गर्‍यो । श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान सुने लुसले सर्वाधिक २८ रन बनाइन् । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन ।

श्रीलंकाका लागि इनोका रणवीराले तीन, ओशादी रणसिंघे र सुगण्डिका कुमारीले दुईरदुई विकेट लिए । त्यसअघि केप टाउनस्थित न्युल्याण्ड्स मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो ।

उसका लागि कप्तान चमारी अथपथ्थुले अर्धशतकीय पारी खेलिन् । ५० बलको सामना गरेकी उनले १२ चौकाको मद्दतमा ६८ रन बनाइन् । टी–२० मा अथपथ्थुको यो छैटौँ अर्धशतक हो । त्यस्तै, विष्मी गुणरत्नेले ३५ रन जोडिन् ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि शबनिम इस्माइल, मारिजेन क्याप र नादिन डे क्लर्कले एकरएक विकेट लिए । जारी विश्वकपमा दुई समूहमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।