कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षसहित १५ जनालाई राजश्व हिनामिना मुद्दामा सफाइ

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षसहित १५ जनालाई राजश्व हिनामिना मुद्दामा सफाइ

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’सहित १५ जनाले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार विशेष अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत १५ जनालाई सफाइ दिएको हो ।

न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दाका सबै १५ प्रतिवादीलाई सफाइ दिएको हो । अदालतमा मुद्दा परेसँगै वर्तमान अध्यक्ष उपाध्यायले कामकाजसमेत गर्न पाएका थिएनन् । गाउँपालिका कार्यबाहक अध्यक्षका भरमा चलिरहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष स्वर्गीय नवलसिंह रावलसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा तत्कालीन गाउँपालिका उपाध्यक्ष पुजा देवी बुढामगर, सबै वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेतलाई विपक्षी बनाइएको थियो । वर्तमान अध्यक्ष उपाध्याय तत्कालीन अवस्थामा वडा नम्बर २ का अध्यक्ष थिए ।

सफाइ पाउनेमा वडा नम्बर ३ का अध्यक्ष नन्दबहादुर गिरी पनि छन् । गिरी पुनः वडाध्यक्षमा विजयी भए पनि मुद्दाका कारण कामकाज गर्न पाएका थिएनन् । नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरणमा निर्माण व्यवसायी कम्पनी न्यु बडिमालिका निर्माण सेवा र गाउँपालिका पदाधिकारीबिच मिलेमतो भई भ्रष्टाचार भएको अख्तियारको दावी थियो ।