सडक दुर्घटना न्यूनीकरणमा पैदल यात्रुको भूमिका

सडक दुर्घटना न्यूनीकरणमा पैदल यात्रुको भूमिका

प्र.ना.नि. पुष्प राज जोशी : मानिस जन्मेपछि घिस्रँदै अगाडि बढ्दै गर्दा करिब एक-डेढ वर्षदेखि हिँड्न, दौडिन सुरु गर्छ । बिस्तारै घरको हिँडाइ घर बाहिर निस्कन्छ र सडकमा पुग्छ । हामी सबै कुनै न कुनै रूपमा सडक प्रयोगकर्ता र पैदल यात्री बन्न पुग्छौँ । संसारमा पैदल यात्री नभएको मानिस कोही छैन, सबै कुनै न कुनै समयमा पैदल यात्री बनेका छौँ र बन्छौँ ।

पैदल यात्रीले सडकमा यात्रा गर्दा उपलब्ध सडकमा कसरी सुरक्षित यात्रा गर्ने, सडक आवागमनमा कसरी अवरोध नहुने गरी सडकको प्रयोग गर्ने र कसरी सडक पार गर्ने भन्ने सम्बन्धमा सबैले जानकारी राख्नु र त्यसलाई व्यवहारमा प्रयोग प्रयोग गर्नुपर्छ ।

भन्दा सामान्य लाग्ने सडक पार गर्ने नियमहरू (रोकिनु, हेर्नु, सुन्नु र जानु) का बारेमा पनि धेरैलाई जानकारी नभएको र जानकारी भएकाहरूले पनि व्यवहारमा प्रयोग नगरेको देखिएको छ । यसै कारण सडकमा पैदल यात्रीको दैनिक जसो मृत्यु भई रहेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आर्थिक वर्ष २०७८÷०७९ को तथ्याङ्क अनुसार सुदूर पश्चिम प्रदेशका ९ जिल्लामा ६९३ वटा सवारी साधन सडक दुर्घटनामा संलग्न भई कुल ५०१वटा सडक दुर्घटना भएकोमा ९.५५ पैदल यात्रीको गल्तीका कारण  सडक दुर्घटना भएको देखिन्छ ।

पैदल यात्रीलाई सवारीले छुना साथ या त मृत्यु नै हुने नभए पनि गम्भीर घाइते हुने निश्चय भएकोले सडक सबैका लागि काल बनिरहेको र पैदल यात्रीका लागि त झन् महाकाल नै बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तसर्थ सडक पार गर्ने नियमहरूको जानकारी लिनु र सोही बमोजिम सडक पार गर्नु अहिलेको अपरिहार्यता हो ।

कानुनी व्यवस्था:

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १३२ मा जेब्रा क्रसिङ्गमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो चौबाटोमा ट्राफिक बत्तीले रोक्ने सङ्केत गरेकोमा चालकले आफूले चलाइरहेको सवारी उचित समयसम्म रोक्नु पर्ने कुरा उल्लेख भएको छ । दफा १३६ मा मानिस हिँड्ने पेटी भएको सडकमा मानिसहरू सो पेटीबाट नै हिँड्नु पर्छ र पेटी नभएको सडकमा हिँड्दा सडकको किनारा च्यापी हिँड्ने गर्नुपर्छ भनी उल्लेख भएको छ ।

पेटी नभएको सडकमा बायाँ किनारा भन्दा दाहिने किनारालाई सुरक्षित मानिन्छ । त्यसै गरी दफा १३७ मा निर्धारित ठाउँबाट बाटो काट्नु पर्ने भनी पैदल हिँड्ने मानिसले बाटो काट्नु पर्दा जेब्रा क्रसिङ्ग, सब–वे, ओभर हेड ब्रिज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएको ठाउँबाट मात्र बाटो काट्नु पर्छ भनी उल्लेख भएकोले सरकारले, सडक व्यवस्थापनको जिम्मेवार निकायले पैदल यात्रीलाई बाटो काट्नका निमित्त कानुनको मर्म बमोजिम जेब्रा क्रसिङ्ग, सब–वे, ओभर हेड ब्रिज र ट्राफिक बत्तीको व्यवस्था गर्नु पर्ने अनिवार्य देखिन्छ ।

कानुनले पैदल यात्रीलाई तोकिएको ठाउँबाट मात्र बाटो काट्ने भनी निर्देश गर्ने तर सरकार तथा व्यवस्थापकले बाटो काट्ने सुरक्षित स्थानको व्यवस्था नगर्नुले त हलो अड्काएर गोरु चुट्ने, हात खुट्टा बाँधेर पौडिन लगाउने जस्तै भएन र रु पैदल यात्रीलाई सडक पार गर्नु पर्ने पर्ने आवश्यकता छ , बाध्यता छ तर सुरक्षित स्थान छैनन् भने त सडक अनुशासन कहाँ कायम हुन सक्छ, सडक बिस्तारै भद्रगोल, अराजक बनिहाल्छ नि । तसर्थ सर्वप्रथम पैदल यात्रीको सुरक्षामा सरकारको ध्यान जानु र सही व्यवस्थापन हुनुपर्छ अनि मात्र नियम कानुनको कार्यान्वयन हुन सक्छ ।

सुरक्षित सडक पार गर्ने पूर्वाधार

(क) जेब्रा क्रसिङ्ग र ट्राफिक लाइट:

पैदल यात्रीले सडक पार गर्नका निमित्त सडकका पोतिएका सेता रेखा र सो बिचको कालो भागले जेब्रा जस्तै देखिने भएकोले यसलाई जेब्रा क्रसिङ्ग भनिएको हो । सडक पार गर्न निर्धारण गरिने ठाउँहरू मध्यको सबै भन्दा सुलभ, कम खर्चिलो र सबैले बुझ्ने सङ्केत हो जेब्रा क्रसिङ्ग । यो सामान्यतया दुई प्रकारको हुन्छ । सडकको लम्बाइ तिर रेखा खिचिएको भए त्यसमा सवारीका चालकले पैदल यात्रीलाई प्राथमिकता दिनु पर्छ भने चौडाइ तिरबाट छोटा छोटा रेखा खिचेर मानिस हिँड्नका लागि बाटो जस्तो बनाएको छ भने सडकको किनारामा मानिस समूह बनाएर बस्नु पर्छ र सवारीलाई प्राथमिकता दिनु पर्छ, अनि समूह बनेको देखेपछि सवारीको चालकले बाटो क्रस गर्न छोड्नु पर्छ । जेब्रा क्रसिङ्गको सडकलाई अझै सुरक्षित बनाउन ट्राफिक लाइट राख्नु पर्छ । निश्चित समय सम्म सवारी ओहोर दोहर गरे पछि पैदल यात्रीले पार गर्ने समयमा पैदल यात्री तर्फ हरियो बत्ती बली सवारी तर्फ रातो बत्ती बल्ने गर्छ । जेब्रा क्रसिङ्ग सँगैको ट्राफिक लाइटले मात्र सडक पार गर्ने कार्यलाई सुरक्षित बनाउन सक्छ । सडकको एक्लो जेब्रा क्रसिङ्ग बढी ट्राफिक हुने सडकमा पूर्ण सुरक्षित हुन सक्दैन । विकसित देशहरूमा ट्राफिक लाइट र सँगैको जेब्रा क्रसिङ्गका अतिरिक्त केही कम ट्राफिक हुने स्थानमा, साना सहरमा, अलि भित्री सडकमा पैदल यात्रीले नै स्विच दबाउन मिल्ने गरी पेलिकन क्रसिङ्गको व्यवस्था समेत भएको हुन्छ । त्यस्तो स्थानमा पैदल यात्रीहरुले आफूलाई सडक पार गर्नु परेको अवस्थामा सडकमै निश्चित गरेको स्विच दबाउँछन् र केही समय पछि सवारी आउने दिशा तर्फ रातो बत्ती बल्छ अनि पैदल यात्री तर्फ हरियो बत्ती बलेर पैदल यात्रीलाई सडक पार गर्न निर्देश गर्छ, यसै समयमा पैदल यात्रीको समूह अगाडि रहेको जेब्रा क्रसिङ्गबाट सडक पार गर्छन् । केही समय पछि सवारी चल्ने दिशा तर्फ फेरी हरियो बत्ती बल्छ र पैदल यात्री तर्फ फेरी रातो बत्ती बल्छ । यही क्रम दोहोरिई रहन्छ, पैदल यात्री नभएको समयमा त्यहाँ स्विच दबाउने कोही हुँदैन र सवारी आवागमन निरन्तर चली रहन्छ । यसरी सुरक्षित साथ सडक पार हुन्छ र सडक पार गर्दा जेब्रा क्रसिङ्गमा मानिस मर्नु पर्दैन ।

पूर्वाधार पर्याप्त विकास हुन नसकेको अवस्था सम्म सडकमा जेब्रा क्रसिङ्ग मात्र पनि बनाउन सकिन्छ, कति दुरीमा जेब्रा हुने, कहाँ कहाँ हुने भनी निर्धारित हुनुपर्छ र स्पष्ट देखिने रेखाङ्कन हुनुपर्छ । मैले यो सडकमा यात्रा गर्दा कुन जेब्रा क्रसिङ्गको प्रयोग गर्ने भन्ने पैदल यात्रीलाई यकिन हुनुपर्छ । तर प्रत्येक पैदल यात्री सडकको किनारामा पुग्नासाथ जेब्रामा ओर्ली हाल्ने र अगाडि बढी हाल्ने बानीलाई भने सुधार्नु आवश्यक छ ।

सामान्य कल्पना गरौँ त,धनगढीको एल.एन.चोकमा प्रत्येक पैदल यात्रीले जेब्रामा छुनासाथ नियमानुसार सवारीको चालकले आफ्नो सवारी रोकेर पैदल यात्रीलाई जान दिने हो भने कुनै एउटा पनि सवारी अगाडि बढ्न सक्ला रु दिनको समयमा असम्भव जस्तै छ, कुनै पनि समयमा पैदल यात्रीको खाली हुँदैन त्यहाँ लगायत धनगढीको ट्राफिक चौराहा ,अत्तरिया चोक, लम्की, सुख्खड कञ्चनपुरको चम्मन चोक,झराली गुलरिया तथा अन्य चोकहरूमा पनि, पैदल यात्री र सवारी एक आपसमा ठेलम ठेल गर्दै अगाडि बढेको देखिन्छ ।

अव्यवस्थाका कारण अत्यन्त असुरक्षाका बावबुज पनि सडक पार गर्न बाध्य छन् पैदलयात्रीहरु र पेलेर सवारी चलाउन बाध्य छन् चालकहरु ।महेन्द्र राजमार्गका मुख्य चोकहरूमा, जेब्रा क्रसिङ्ग भएकै स्थानमा पनि प्राय गरी सडक दुर्घटना भई रहेको छ ।धनगढीको बोराडाँडि स्थित त्रिभुवन चोकमा जेब्रा क्रसिङ्गमा बिद्यार्थी छात्राले ज्यान गुमाएको, पहलमानपुर चोकको जेब्रा क्रसिङ्गमा एक जना पैदल यात्रीले ज्यान गुमाएको घटना अझै पनि ताजै छ

(ख) सब–वे र ओभर हेड ब्रिज

सवारी आवागमनलाईकत्ति पनि अवरोध नहुने र पैदल यात्रीले सुरक्षित भएर सडक पार गर्ने उपयुक्त स्थान हुन सब वे र ओभर हेड ब्रिज । जमिन मुनिबाट सडक पार गर्ने व्यवस्था भएकोमा सब वे र जमिन माथीबाट सडक पार गर्ने व्यवस्था भएकोमा ओभर हेड ब्रिज भन्ने गरीन्छ । हेर्दा केही खर्चिलो देखिए पनि सुरक्षित सडक पार गर्ने पहिलो विकल्प यिनै हुन् र एकपटक बनाएपछि वर्षौसम्म प्रयोेग गर्न सकिने पूर्वाधार हुन सब–वे र ओभर हेड ब्रिज ।

पैदल यात्रीलाई सडकमा अल्पायूमा मर्न नदिन सरकारले बढी ट्राफिक हुने सडक र हाई वे मा सब वे र ओभर हेड ब्रिज बनाउने कार्यलाई प्राथमिकतामा राखी सुरुआत गरि हाल्नु पर्छ । सडकको चौडाइ क्षेत्र बढ्न सक्ने सम्भावना भएमा तत्कालको लागि फलामको पूर्वाधार तयार गरेर पनि वषौँ सम्म चल्ने सुरक्षित ओभर हेड ब्रिज बनाउन सकिने सफल उदाहरण काठमाण्डौ, पोखरा, झापा र चितवनको रत्ननगरमा पनि देखिई सकेको छ । यसैलाई निरन्तरता दिएर पनि तत्कालै सडक पार गर्ने कार्यलाई सुरक्षित बनाउन सकिन्छ र बनाउनु पर्छ ।

यस्ता कुनै पूर्वाधार नभएको अवस्थामा सडक पार गर्दा यथासम्भव ट्राफिक प्रहरी भएको स्थानबाट प्रहरीको सहयोगमा र त्यो अवस्था पनि नभएमा सडकको दुवैैतिर कम्तीमा पनि २५÷३० मिटर स्पष्ट देखिने सिधा सडकबाट मात्र आफ्नो सुरक्षालाई ख्याल गरेर सडक पार गर्नुपर्छ ।

निष्कर्षः

हाम्रो देशमा सडक यात्रालाई सुरक्षित बनाउने कुरा प्रायः कुनै पनि सरकारको प्राथमिकतामा परेन, विकास र सम्मृृद्धि झल्किने त्यस्ता सुरक्षाका उपायहरुको जडान र प्रयोगको अवस्था निराशाजनक रहेको छ । संयुक्त राष्ट्र संघले सन् २०३० सम्म सडक दुर्घटना र सोबाट हुने क्षतिलाई आधा गर्ने भन्ने अभियान सञ्चालन गरे पनि नेपालमा त्यस सम्बन्धी अपेक्षित कार्यहरु सुरु हुन सकेका छैनन् ।

सवारी चालक र पैदल यात्रीलाई गाइड गर्ने ट्राफिक चिन्ह र सडक रेखाहरुको अवस्था सडकमा दयनीय छ, व्यवस्थापनको पाटो पनि कमजोर छ । सडक पिच हुन्छ तर सडक रेखाहरु पोतिदैनन्, पूरै सडकमा जेब्रा क्रसिङ्ग बन्दैनन्, कहीँ जेब्रा क्रसिङ्गबाटै राइट टर्न र यूटर्न दिने गरेको, भिरालोमा जेब्रा क्रसिङ्ग भएको पनि देखिएको छ, अनि कसरी सुरक्षित हुन्छ सडक यात्रा रु तसर्थ सरकारले मौजुदा सडकलाई सुरक्षित बनाउने कार्यलाई प्राथमिकतामा राखी तत्कालै अध्ययन सुरु गर्नुपर्छ र प्राथमिकताका साथ सडक फर्निचरहरुको व्यवस्था गरी सडकलाई मर्यादित र सुरक्षित बनाउनेतर्फ आजैबाट लाग्नु पर्छ ।

आम सडक प्रयोगकर्ताहरुले पनि सडकमा भएका सुरक्षाका पूर्वाधारहरुको सही प्रयोग र हिफाजत गर्नुपर्छ, ऐन नियम र व्यवस्थापनको पुर्णरुपमा पालना गर्नु पर्छ । केही पर पुग्दा ओभर हेड ब्रिज, सववे वा जेब्रा क्रसिङ्ग भेटिन्छ भने आफ्नो सुरक्षाका खातिर त्यहाँ सम्म हिँड्न कञ्जुस्याई गर्नु हुँदैन र जहाँबाट पायो त्यहिबाट सडक पार गर्नु हुँदैन । सडक सार्वजनिक हो र सबैले उपभोग गर्नुपर्छ भन्ने मानसिकता राखी सडक प्रयोगकर्ताहरू सबैले सबैलाई सुरक्षित र सहज आवागमन व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।