कृष्णपुर नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु,प्रदेश प्रमुख जाेशीद्वारा उद्घाटन

कृष्णपुर नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु,प्रदेश प्रमुख जाेशीद्वारा उद्घाटन

महेन्द्रनगर / कृष्णपुर नगरपालिकाको आयोजना र नगर खेलकुद समितिको प्राविधिक सहयोगमा नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।

बुधबार कृष्णपुर नगरपालिका वडा न ४ मा रहेको कृष्ण मावि मौवाफाँटाको खेलमैदान एक भव्य समारोहका बिच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेकाे हुन। राष्ट्रपति रनिङ सिल्डको उद्घाटन पश्चात प्रदेश प्रमुख जोशीले खेलले खेलाडीलाई मात्र नभइ देशलाई समेत चिनाउने भएकोले सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उहाँले विश्वका अल्पविकसित राष्ट्र पनि खेल पर्यटनबाट मनग्ये आम्दानी गरिरहेकाले हाम्रो देशमा पनि खेल पर्यटनको उच्च सम्भावना रहेको बताए ।

त्यस्तै उद्घाटन सत्रमा बोल्नुहुँदै नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य सँगसँगै खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकता राखेर काम गरिरहेको बताए । उनले एक वडा एक खेल मैदानको अवधारणा अनुरुप आफू अगाडि बढिरहेको र एउटा नगरस्तरीय राम्रो प्रतियोगिता आयोजना गर्न मिनि कबर्ड हल निर्माण गर्ने योजनामा समेत रहेको बताए ।

नगरप्रमुख ओझाले विद्यार्थीहरुलाई पढाइ सँगसँगै खेलकुदमा पनि आकर्षित गर्न सके पछिल्लो समय देखिएको लागुऔषधको समस्याबाट पनि विद्यार्थीलाई छुट्कारा दिन सकिने बताए । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सुरु भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहनुभएको थियोे ।

त्यस्तै विशिष्ट अतिथिमा संविधान सभा सदस्य कमल क्षेत्री,प्रदेश सभा सदस्य गीता चौधरी,निवर्तमान प्रदेश सभा सदस्य,देवराज पाठक,जिल्ला समन्वय समिति कंचनपुरका संयोजक दुर्गा बोहरा,जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का लगायत रहेकाे थियो । अतिथिमा कृष्णपुर नगरपालिकाकि उपप्रमुख द्रोपती राना,नौ वटै वडाका वडाध्यक्षहरु,प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्ट,राष्ट्रिय भुमी आयोग कंचनपुरका सदस्य दिल देउवा विभिन्न विद्यालय,क्याम्पसका प्राचार्य / प्रमुख लगायत हजारौंको संख्यामा दर्शकको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन कृष्णपुर नगरपालिकाका सुचना अधिकारी प्रेम बोगटीले गरेका थियो ।

बुधबार सुरु भएको प्रतियोगिता माघ २७ गतेसम्म चल्नेछ,रनिङ सिल्डमा कृष्णपुर भरीका २३ माध्यामिक विद्यालयको सहभागिता रहेको छ ।