आईफोन १६ सिरिजमा अल्ट्रा मोडेल पनि आउने !

आईफोन १६ सिरिजमा अल्ट्रा मोडेल पनि आउने !

एप्पलले सबैभन्दा महँगो फोनका रूपमा अल्ट्रा मोडेल ल्याउने चर्चा चलेको छ । एप्पल ट्रयाकर मार्क गर्म्यानले यो मोडेल आईफोन १६ सिरिजमा समावेश हुने दाबी गरेका छन् ।

प्रो र प्रो म्याक्सभन्दा पनि स्तरीय फोनका रूपमा सन् २०२४ मा एप्पलले आईफोन १६ लाइनअपमा अल्ट्रा मोडेल समावेश गर्ने उनले उल्लेख गरेका छन् ।

गत सेप्टेम्बरमा गर्म्यानले अल्ट्रा मोडेलले प्रो म्याक्स मोडेल विस्थापित गर्नसक्ने भविष्यवाणी गरेका थिए । तर, अहिलेसम्म बाहिरिएका आईफोन १५ का जानकारी अनुसार कम्पनीले अल्ट्रा मोडेल सार्वजनिक गर्नसक्ने अवस्था देखिएको छैन ।

आईफोन १५ को अल्ट्रा मोडेलको मूल्य प्रो म्याक्सको तुलनामा बढी हुनेछ । अहिले आईफोन १४ प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ डलर (एक लाख ४३ हजार रुपैयाँ ) रहेको छ ।

गत हप्ता एप्पलको आयव्यय विवरण सार्वजनिक गर्ने कार्यक्रममा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले भविष्यमा आईफोनको मूल्य वृद्धि हुनसक्ने संकेत गरेका थिए । ग्राहकहरूले अझ राम्रो आईफोन प्रयोग गर्न थप रकम खर्च गर्नुपर्ने उनको मत थियो ।

आईफोन मानिसहरूको जीवनमा अभिन्न अंग भएको छ, कुकले भने, मलाई लाग्छ कि मानिसहरू वास्तवमै त्यो स्तरका फोन खरिद गर्न इच्छुक छन् ।

आईफोनको अल्ट्रा मोडेलमा के-कस्ता विशेषता हुनेछन् भन्ने हालसम्म स्पष्ट छैन । गर्म्यानका अनुसार कम्पनीले उक्त अल्ट्रा मोडेलमा भने क्यामेरामा बढी काम गर्नेछ । त्यस्तै फास्टर चिप, ठूलो डिस्प्ले उपलब्ध हुनसक्ने उनको अनुमान छ ।

साथै कम्पनीले अल्ट्रा मोडेलका लागि वायरलेस चार्जिङमा केही नयाँपन ल्याउनेछ ।