आर्थिक बर्ष सकिन लाग्दा समेत बजेट खर्च गर्ने अख्तियारी नदिएको भन्दै मन्त्रीहरुको आलोचना

आर्थिक बर्ष सकिन लाग्दा समेत बजेट खर्च गर्ने अख्तियारी नदिएको भन्दै मन्त्रीहरुको आलोचना

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा बिशेष समयमा बोल्दै सत्तापक्षीय सासंदहरुले सरकारले बजेट खर्च गर्ने अख्तियारी ढिलो गरी दिएको भन्दै आलोचना गरेका छन् ।

सत्तापक्षीय सांसद लिलाधर भट्टले आर्थिक बर्षको दशौं महिनामा प्रवेश गर्दा बल्ल बल्ल बजेट खर्च गर्ने अख्तियारी दिइएको र योजना सम्झौता गर्दा बैतडीका जनताले डोटी पुग्ने गरी ब्यवस्था मिलाइएकोले सरकारलाई धन्यबाद भन्दै ब्यंग्य गर्नुभयो ।

उहाँले करोडौं रकम भएको सम्पुरक अनुदान, बिशेष अनुदान, सहकारी अनुदान र महिला सशक्तीकरण जस्ता कार्यक्रमहरु कहिले कार्यान्वयन हुने हुन भनि प्रश्न गर्नुभयो । 

बिशेष समयमा बोल्दै पूर्वमन्त्री दीर्घ सोडारीले छ लेन सडकमा धनगढी देखि अत्तरिया सम्म जाँदा जनताले सास्ती खेप्नुपरेको भन्दै सो बाटोमा मोटरसाइकल चढेर एक दिन अत्तरिया सम्म गइदिन सरकारका मन्त्रीहरुलाई आग्रह गर्छु भन्दै ब्यंग्य गर्नुभयो ।

पूर्वमन्त्री सोडारीले छ लेन सडक नबन्दा सम्म जनताले बैकल्पिक सडकका रुपमा प्रयोग गरिरहेको पिपल चौतारा देखि स्याउले सममको सडक चालू आर्थिक बर्षमै कालोपत्रे गर्न माग गर्नुभयो । 

यस्तै सत्तापक्षीय नेकपाकी सांसद शान्ति नेपालीले प्रदेश सरकार गठन भएपछि तेस्रो आर्थिक बर्ष शुरु हुन गइरहेकोले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार दिन नचाहिरहेको बताउनुभयो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सासंद कर्णबहादुर मल्लले सामासजिक विकास मन्त्रालयमा अक्सिजन प्लान्ट लगायत औषधी खरीदका लागि टेण्डर गर्दा सस्तोमा भन्दा महाङ्गोमा टेण्डर हाल्नेलाई कामको जिम्मेवारी दिएकोले सो सम्बन्धमा छानवीन गर्न प्रदेश सरकारलाई शक्तिशाली आयोग बनाउन माग गर्नुभयो । 

यस्तै नेपाली कांग्रेसका सासंद टेक बहादुर रैका आउजीले प्रदेश सरकारले समावेशी सिद्धन्तका आधारमा कुनै पनि दलित सासंदलाई मन्त्री नबनाएकोमा रोष प्रकट गर्नुभयो । उहाँले दलितहरुलाई पद दिने कुरामा कञ्जुस्याई गरेको आरोप लगाउनुभयो । प्रदेश सभाको अर्को बैठक बैशाख १० गते बस्ने छ ।