एलपीएल : कप्तान ठगुन्नाको अलराउण्ड प्रदर्शनमा भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी विजयी

एलपीएल : कप्तान ठगुन्नाको अलराउण्ड प्रदर्शनमा भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी विजयी

धनगढी / कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी विजयी भएको छ । 

प्रतियोगितामा आफ्नो पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनलाई ४ रनले पराजित गर्दै भुवनेश्वरीले विजयी सुरुवात गरेको हो । उसको जितमा टिम कप्तान खगेन्द्र ठगुन्नाले अलराउण्ड प्रदर्शन गर्दै टिमलाई जित दिलाएका हुन् । उनले टिमका लागि ब्याटिङमा ३२ रन र बलिङमा ३ विकेट लिए । 

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भुवनेश्वरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्न सफल भयो । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको शारदा विद्या निकेतन २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सफल भयो । उसका लागि दीपक रोकायाले २६ र कृष्ण भट्टले २१ रन बनाए । बलिङ तर्फ भुवनेश्वरीका खगेन्द्र ठगुन्नाले ३ विकेट लिए । 

त्यस अघि पहिलो इनिङमा भुवनेश्वरीलाई १ सय २० रनको योगफलका लागि खगेन्द्र ठगुन्नाले ३२ रनको पारी खेले । उसका प्रकाश पाण्डेले २२ र लोकेश जोशीले १८ रनको पारी खेले । बलिङ तर्फ शारदाका हृदय बिठारीले २ विकेट लिए । 

खेलको खेलको प्लेयर अफ दी म्याच खगेन्द्र ठगुन्ना चुनिए । उनले २ हजार नगदसहित ट्रफी प्राप्त गरे । 

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् । 

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । 

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।