एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको विजयी सुरुवात

एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको विजयी सुरुवात

धनगढी - लिटल फ्लावर बोर्डिङले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा विजयी सुरुवात गरेको छ । कञ्चनपुरको होली फेमिली इङ्लिस मिडियम स्कुल भीमदत्त नगरलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको होली फेमिलीले १७.७ ओभरमा १० विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । ६० रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो । उसका नरेन भट्टले अविजित २४ र कप्तान विपिन रावलले ११ रनको पारी खेले । होली फेमिलीका लागि नेहाल दमाई, अरुन राना र विरेन बमले १÷१ विकेट लिए । 

त्यस अघि पहिलो इनिङमा होली फेमिलीलाई सस्तैमा समेट्न लिटल फ्लावरका सुबोध तिवारीले २.५ ओभर बलिङ गर्दै ७ रन खर्चिएर ३ विकेट लिए । उसका रोशन रावल, आशिस शाहु र अनुराग सिंहले समान २÷२ विकेट लिए । लिटल फ्लावरका बलर सामु होली फेमिलीका अरुन रानाले २२ र अभिषेक कार्कीले १८ रन बनाउनु बाहेक अन्यको स्कोर सम्झन लायक रहेन । 

खेलको प्लेयर अफ दी म्याच लिटल फ्लावरका सुबोध तिवारी चुनिए । उनले २ हजार नगदसहित ट्रफी प्राप्त गरे । 

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् । 

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । 

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।