कोल्टीबाट सेना ब्यारेक फिर्ता

कोल्टीबाट सेना ब्यारेक फिर्ता

बाजुरा : १८ वर्षदेखि बुढिनन्दा नगरपालिका-२ को कोल्टीमा बस्दै आएको नेपाली सेना अछाम फिर्ता जान लागेको छ। स्थानीयले जग्गा उपलब्ध नगराउँदा र सेनाले ब्यारेकलाई समायोजन गर्ने नीतिअनुसार ब्यारेक फिर्ता हुन लागेको नेपाली सेनाका प्रवक्ता विज्ञान पाण्डेले बताए।

जग्गा उपलब्ध नगराएकै कारणले ब्यारेक फिर्ता जान लागेको भएपनि सेनाले भने त्यहाँ नेपाली सेनाको सुरक्षा आवश्यक नरहेको भन्दै फिर्ता हुन लागेको बताएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले अनुसार द्वन्द्वकालमा द्वन्द्व व्यवस्थापनका लागि राखेको हो, अहिले शान्ति सुरक्षाको अवस्था मजबुद रहेकाले त्यहाँ नेपाली सेनाको खासै आवश्यक नरहेर फिर्ता बोलाएको हो।

कोल्टीमा रहेको भवानी बक्स गण अछाम मातहतको गण हो। भवानी बक्स गण अछामका प्रमुख सेनानी लोचन कार्कीले भने त्यहाँ अब खासै आवश्यक नरहेको हेलिकोप्टर व्यवस्थापन हुँदै छ, केही दिनमा अछाम फिर्ता आउने बताए।

सेनाले पटक पटक जग्गाका लागि राजनीतिक दलका नेतासँग आग्रह गर्दै आएको थियो। जग्गा व्यवस्थापन नभएपछि बाध्य भएर फिर्ता हुन लागेको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने आफूलाई यसबारे खासै जानकारी नभएको बताए।

पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले न‍बस्न भने पछि बैकल्पिक व्यवस्थापन नहुँदासम्म भन्दै विगत ३ वर्षदेखि बुढीनन्दा क्याम्पसको भवनमा भवानी वक्स गण 'क' बस्दै आएको थियो।

नेपाली सेनाको ब्यारेक बनाउनका लागि कतै जग्गा उपलब्ध हुन नसक्दा विद्यालयको भवनमा बस्न नसक्ने भन्दै हेडक्वाटरबाटै फिर्ता बोलाएको भवानी बक्स गण कोल्टीका मेजर हरिराम कुमार श्रेष्ठले बताए। 

नेपाली सेनाले द्वन्द्वकालमा विमानस्थललगायतका सरकारी संरचनाको सुरक्षाका लागि भन्दै बाजुराको कोल्टीमा ब्यारेक बनाएर बसेको थियो। २०७१ सालमा सेनाको ब्यारेक नजिकै बाढी पहिरोले ठूलो धनजनको क्षति भएपछि नेपाली सेनाको प्राविधिक टोलीले सेना बसिरहेको गुम्बा क्षेत्रको ब्यारेकमा नबस्न भनेपछि हाल बुढीनन्दा क्याम्पसको भवनमा बस्दै आएको थियो। नेपाली सेनालाई बस्नका लागि स्थानीय तहले ठाउँ नखोजेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन्।

दैविक प्रकोपलगायतका घटना तथा एयरपोर्ट पनि भएकाले भीआइपीको सुरक्षार्थ समेत सहजता हुने भएपनि नेपाली सेनालाई बस्ने वातावरण नबनाएको स्थानीय काशीराम विष्टले बताए।
 
यता बुढीनन्दा नगरपालिकाका प्रवक्ता कृष्णराज पाध्यायले नेपाली सेनाको ब्यारेकका लागि विभिन्न ठाउँमा जग्गाको खोजी गरे पनि कतै रेट नमिलेको र कतै बस्न योग्य ठाउँ नभएपछि सेना जान लागेको बताए। जग्गा खरिदका लागि पटक पटक कुरा गर्दा पनि स्थानीयवासी दररेटमा सहमत भएको थिए। 

प्रवक्ता पाध्यायले नगर कार्यपालिकाको बैठकले प्रति वर्ग मिटर १ हजार रुपैयाँ दिने भनेर निर्णय गरे पनि स्थानीयबीच कुरा नमिलेको बताए।उनले नेपाली सेना ब्यारेक फिर्ता हुँदा जिल्लालाई ठूलो घाटा भएको बताए।