पुल सञ्चालनमा नआउँदा ट्युबमै महाकाली वारपार

पुल सञ्चालनमा नआउँदा ट्युबमै महाकाली वारपार

दार्चुला - महाकाली नदीमा पुल बने पनि लेकम गाउँपालिका–३ का बासिन्दा जोखिम मोलेर ट्युबबाटै ओहोरदोहोर गर्न बाध्य छन । उनीहरू दैनिक उपभोग्य सामान पनि ट्युबबाटै तार्छन ।

‘लालीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण भएको ४ महिना बितिसक्यो,’ स्थानीय मोहनसिंह भण्डारीले भने, ‘तर सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा जोखिम मोल्न बाध्य छौं ।’ उनका अनुसार गत वर्ष ट्युबबाट खसेर एक जनाले ज्यान गुमाएका थिए ।

भारतमा आफन्त र इष्टमित्र भेट्न जान पनि जौलजिवी पुगेर लालीपारि पुग्नुभन्दा ट्युबबाटै जान छिटो हुने उनले सुनाए । लालीलगायत आसपासका बासिन्दा सीमावर्ती भारतीय बजारमै निर्भर छन ।

औषधि–उपचारदेखि आफन्त भेट्न पारि जानुपर्ने भएकाले स्थानीयलाई कठिनाइ छ । उनीहरूले ३ दशकदेखि लाली क्षेत्रमा नेपाल–भारत जोड्ने झोलुंगे पुल माग गर्दै आएका थिए । पुल बनिसके पनि सञ्चालनमा नआउनु विडम्बना भएको लेकम–३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए ।

पुल सञ्चालनका लागि नेपाली र भारतीयप्रशासनलाई अनुरोध गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । नेपाल र भारतका प्रशासनिक निकायलाई गाउँपालिकाले दुवैतिर सुरक्षा पोस्ट निर्माण र भारतीय क्षेत्रमा बाटो निर्माण गर्ने आश्वासन दिँदासमेत पुल सञ्चालनमा पहल भएको छैन ।

गत वर्ष पुसमा पुल निर्माण भएकोमा फागुन दोस्रो साता दुवै देशका प्राविधिक, प्रशासन र सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरी एक साताअघि सुरक्षा पोस्ट पनि स्थापना गरिसकेका छन । भारतको डिडिघाट प्रशासनलाई संयुक्त अनुगमनका लागि अनुरोध गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।

‘झोलुंगे पुल महाशाखाको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट पुल अनुगमनका लागि जिल्लामा प्राविधिक टोली आइरहेको छ । दुवै देशका प्रशासनिक र सुरक्षा निकायका अधिकारीको संयुक्त अनुगमनपछि सञ्चालनमा ल्याइनेछ,’ उनले भने ।

यसअघिको संयुक्त अनुगमनमा भारतीय पक्षले भारतपट्टि बाटो र सुरक्षा पोस्ट निर्माण भएपछि मात्र पुल सञ्चालन हुने जनाएको छ । भारतले सुरक्षा पोस्ट र बाटो निर्माण नभईकन पुल सञ्चालनमा ल्याउन नमानेपछि नेपालतर्फ बाटो बनाइएको वडाध्यक्ष जोशीले बताए ।

२ सय मिटर लामो पुल निर्माणका लागि ०७३ असोजमा १ करोड ३२ लाखमा सम्झौता भएको थियो । स्वदेशको बाटो निर्माण सामग्री र्पुयाउन सडक पहुँच नहुँदा भारतीय मार्ग प्रयोग गर्नुपरेकाले तोकिएको समयमा बनाउन नसकिएको निर्माण कम्पनीले जनाएको छ ।