एक वर्षमै फल्ने स्याउको परीक्षण

एक वर्षमै फल्ने स्याउको परीक्षण

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले उन्नत जातको उच्च घनत्व प्रविधिको स्याउ खेतीको परीक्षण सुरु गरेको छ । स्याउ रोपेकै वर्षबाट फल्ने उच्च घनत्व प्रविधिका स्याउ खेती गर्नतर्फ लागेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताएका छन् ।

स्वामीकार्तिक खापर गाउँ कार्यपालिकाको निर्णयअनुसार नै हावापानी अनुकूल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न सुरु भएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक निरज कट्टेलले बताए । स्याउ खेती स्वामीकार्तिक खापर गाउँपालिका–३ जोरुमा रहेको चाखुडेथला प्राथमिक विद्यालयको बाँझो जग्गामा लगाइएको छ । गाउँपालिकाले परीक्षणका लागि पहिलोपटक हजार बोट लगाएको उनको भनाइ छ ।

स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउँ र ओखर खेतीको सम्भावना भएको भन्दै उक्त खेती सुरु गरेको गाउँपालिकाले जनाएको छ । हाल परीक्षणका लागि इटलीमा उत्पादन गरिँदै आएको उन्नत जातको फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको सुरुवात गरिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाभरि विभिन्न जातका स्याउ फल्ने गरे तापनि यो उन्नत जातको स्याउ भने जिल्लामै पहिलोपटक परीक्षण खेती सुरु गरेको छ ।

चिसो तथा हिमाली भेगमा उत्पादन गर्न सकिने स्याउको प्रजातिबारे प्राविधिक सल्लाहअनुसार नै उन्नत जातको स्याउ खेती सुरु गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताएका छन् । गाउँपालिको कृषि विकास शाखाले एग्रो मनाङ प्रालिसँग समन्वय गरेर स्याउ खेती सुरु गरेको हो । परीक्षणस्वरूप स्वामीकार्तिक–३ जोरुमा सुदूरपश्चिम प्रदेशमै पहिलोपटक खेती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । इटली र साइबेरियाबाट मनाङ जिल्लाको एग्रो मनाङ प्रालिले नेपालमा भित्र्याएको र बाजुराको स्वामीकार्तिक गाउँपालिकाले पनि एग्रो मनाङसँग समन्वय गर्दै ल्याएको जनाएको छ । स्याउ समुन्द्री सतहदेखि १ हजार ८ सय मिटरदेखि ३ हजार मिटरसम्म फल्ने भएकाले परीक्षणका लागि पहिलोपटक स्वामीकार्तिकको जोरुमा खेती सुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले बताएका छन् ।

उनले उन्नत जातको स्याउको परीक्षण सफल भएमा गाउँपालिकाभरिका स्याउ फल्ने क्षेत्रमा यो खेतीको विस्तारतर्फ गाउँपालिकाले कार्यक्रम बनाउने बताए । बाजुराको गौमुल गाउँपालिकाले समेत सोही प्रजातिको स्याउ ५ सय बोट परीक्षणस्वरूप लगाएको छ । गौमुलमा सो स्याउ उत्पादन हुने नहुने यकिन छैन तर पनि अरू ठाउँको अभ्यास हेर्दा र हावापानी हेर्दा उत्पादन हुनेमा ढुक्क छौं,’ गाउँपालिकाका अध्यक्ष हरि रोकायाले भने । फुजी गाला र गोल्डेन जातको स्याउलाई चैतको पहिलो सातादेखि दोस्रो सातासम्म रोपी सक्नुपर्ने र थोपा सिँचाइको प्रयोगबाट पानी लगाउन मिल्ने प्राविधिकहरूको सल्लाह छ ।

स्याउको प्रत्येक बोटलाई प्रत्येक दिन कम्तीमा पनि तीन लिटर पानीको अनिवार्य आवश्यक पर्ने हुन्छ । इटाली र साइबेरियामा उत्पादन गर्दै आएको यो नयाँ प्रविधिकोे स्याउ लगाएको पहिलो वर्षमा कम्तीमा पनि तीन केजी फल्ने र त्यसपछि क्रमशः ५, ६ हुँदै प्रतिबोट ४५ केजीसम्म उत्पादन हुने राताकोट एग्रो हब्स एन्ड रिसर्च कम्पनी प्रालिका सञ्चालक महेन्द्रबहादुर शाहीले बताएका छन् ।

एग्रोमनाङ प्रालिबाट एक बोटको १ हजार ३ सय रुपैयाँमा खरिद गरिएको हो । स्थानीय जातको स्याउ साउनबाट फल्न सुरु गरेर असोज, कात्तिकसम्म मात्र रहने हुन्छ भने फुजी गाला र गोल्डन जातको स्याउ साउनबाट फल्न सुरु गरेर मंसिर-पुस महिनाको अन्तिमसम्म रहने बताइएको छ । साथै, सानो बोटमै फल्न सुरु हुने हुँदा आर्थिक उपार्जनमा पनि कृषकका लागि ठूलो सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । करिब चार फिट जतिको मात्रै बोट हुने गर्दछ । जिल्लामा अन्य प्रजातिका स्याउ मासिँदै गइरहेको बेला नयाँ जातको हाइडेनसिटी अर्थात् उच्च घनत्व प्रविधिको स्याउ राम्रोसँग उत्पादन हुने आशामा गाउँपालिका रहेको छ ।