दार्चुलामा अपाङ्गता भएका ७ जनालाई घरमै पुगेर नागरिकता प्रदान

दार्चुलामा अपाङ्गता भएका ७ जनालाई घरमै पुगेर नागरिकता प्रदान

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपाङ्गता भएका ७ जना व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ ।

नागरिकताको लागि प्रशासनसम्म आउन सक्ने अवस्था नभएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिलाउन सहजीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन् ।

बिहीबार मात्रै प्रशासनले महाकाली नगरपालिका–३ बाँजका अपाङ्गता भएकी ५८ वर्षीया ऐती देवी महरालाई नागरिकताको प्रतिलिपि वितरण गरेको छ । उनी हिडडूल गर्न सक्दिनन् । 

यसअघि प्रशासनले गत भदौ महिनामा महाकाली नगरपालिका–७  धापका रामदत्त जोशी र महाकाली नगरपालिका–३ बाँजका ६६ वर्षीय जयसिंह महरलाई घरमै पुगेर नागरिकता वितरण गरेको थियो । 

यस्तै पुस महिनामा मालिकार्जुन गाउँपालिका–४ का ७४ वर्षीया अनिता धामी र करबीर सिंह धामी, वडा नम्बर ३ का ५५ वर्षीय केशव सिंह धामी, वडा नम्बर १ का ६९ वर्षीय जगत सिंह बोहरालाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरिएको थियो । 

अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा समस्यामा परेका नागरिकहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । घरमै नागरिकता पाएपछि सेवाग्राही खुसी भएका छन् । 
कतिपय अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा नागरिकताविहीन हुने र उनीहरू सामाजिक सुरक्षा भत्ता पाउनबाट पनि वञ्चित हुनुपर्ने अवस्था आउने हुँदा स्थानीय तहको समन्वयमा घरदैलो अभियान सञ्चालन गरेर नागरिकता वितरण गरिरहेको सहायक प्रजिअ  साउँदले बताइन् ।

अति अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयसम्म आउन निक्कै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि घरदैलोमा नै सेवा दिन प्रशासन तत्पर रहेको सहायक प्रजिअ  साउँदले बताइन् ।