कांग्रेस नेताको नाम उल्लेख भएको भन्दै गाउँपालिकाको एम्वुलेन्स थन्कियो

कांग्रेस नेताको नाम उल्लेख भएको भन्दै गाउँपालिकाको एम्वुलेन्स थन्कियो

डोटीको जोरायल गाउँपालिकामा ४ महिना अगाडी हस्तान्तरण गरिएको एम्वुलेन्स अहिले सम्म पनि थन्काईएको छ । एम्वुलेन्समा नेपाली कांग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ४ महिना सम्म एम्वुलेन्स सुचारु गर्न नमानेको हो । 

एम्वुलेन्समा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरिद गरेको कुरा उल्लेख गरिएको छ । नेपाली कांग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ४ महिना देखि नै प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा एम्वुलेन्स थन्काएको हो । 

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रशाद ओझाले नेपाली कांग्रेसका नेता विष्टले विना कारण नाम उल्लेख गरेकोले एम्वुलेन्स चलाउन नदिएको बताए । उनले गाउँपालिकाकै पहलमा आमा फाउण्डेसनले एम्वुलेन्स खरिद गरे पनि कांग्रेस नेताको नाम उल्लेख गरिएकाले नलचाउन निर्देशन दिएको बताए । उनले अगामी आर्थिक वर्षमा गाउँपालिकाबाट बजेट विनियोजन गर्दै नयाँ एम्वुलेन्स खरिद गर्ने दावी गरे । ओझा नेकपा एमालेबाट अध्यक्षमा विजयी भएका हुन् ।

जोरायल गाउँपालिकामा पौषमा आयोजना गरिएको एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओझा उपस्थित नभएपछि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिर भण्डारी मार्फत प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे लाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।