बर्डफ्लु नियन्त्रण गर्न धौधौ

बर्डफ्लु नियन्त्रण गर्न धौधौ

हेटौंडा : हेटौंडामा बर्डफ्लु संक्रमण भएको पाँच सातामा ६६ हजार ५ सय ४६ कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको छ। तर, अझै रोग नियन्त्रणमा नआएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले जनाएको छ।

समितिको शुक्रबार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग थप सहयोग माग गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाको जनशक्तिले रोग नियन्त्रण गर्न नसकेको हो। ‘हेटौंडा–७ स्थित दुई किसानको खोरबाट लिइएको नमुनामा एक दिनअघि मात्र बर्डफ्लु पुष्टि भयो’, समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘यो रोग फैलिन नपाओस् भनेर मन्त्रालयसँग थप मद्दत माग गर्ने निर्णय गरेका हौं।’

उनका अनुसार लेयर्स ६५ हजार ७ सय ८३, ब्रोइलर ४ सय १२ र विभिन्न प्रजातिका पन्छी ३ सय ५१ वटा नष्ट गरिएको छ। २५ हजार अण्डा र ४ हजार ४ सय ६३ किलो दाना नष्ट गरिएको उनले बताए।

हेटौंडा–६ र ७ नम्बर वडाका किसानले पालेका कुखुरा माघ अन्तिम सातादेखि बिरामी हुँदै मर्न थालेका थिए। किसानले चितवनस्थित पशुसेवा विज्ञ केन्द्रमा रोगी कुखुरा परीक्षण गर्दा बर्डफ्लुको लक्षण देखिएपछि भेटेरिनरी अस्पतालले चासो लिएको थियो। जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा फागुन १४ गते नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो। प्रयोगशालाले फागुन २८ मा बर्डफ्लु पुष्टि गर्दै भेटेरिनरी अस्पता हेटौंडामा पत्र पठाएको थियो। त्यसलगत्तै चैत २ देखि संक्रमित कुखुरा नष्ट गर्ने अभियान चलाइएको थियो। सीमित स्रोतसाधन र जनशक्तिका कारण रोग नियन्त्रणमा समस्या परेको केन्द्र प्रमुख डा. चेतनारायण खरेलले बताए।

केन्द्रले तत्काल नियन्त्रणको उपाय अपनाउनुको साटो रोगी कुखुरा बिक्रीवितरण गर्न व्यवसायीलाई सहयोग गरेका कारण रोग अन्यत्र फैलिएको उपभोक्ताको आरोप छ। ‘माघ अन्तिम सातामै सतर्क हुनुपथ्र्यो’, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बाखु खतिवडाले भने, ‘केन्द्रका कर्मचारीको लापरवाहीले गर्दा भयावह अवस्था आएको छ।’

रिपोर्ट ढिला आएको र रोग अन्यत्र फैलिएको विषयमा स्थानीय प्रशासनले अनुसन्धान गरिररहेको छ। ‘पहिलो पटक पठाएको नमुनाको रिपोर्ट आउन दुई साता लाग्ने, अहिलेचाहिँ आजको भोलि आउने कुरामा केही शंका छ’, प्रजिअ तामाङले भने, ‘हामीले यस विषयमा पनि छानबिन गरिरेका छौं।’

बर्डफ्लु र अन्य संक्रमणबाट माघयता ३ लाखभन्दा बढी कुखुरा मरेको कुखुरा व्यवसायी संघ मकवानपुरको दाबी छ। ‘कुखुरा पहिल्यै मरिसकेको हुन्छ’, संघका अध्यक्ष राजु अधिकारीले भने, ‘बर्डफ्लु भनेर मार्ने बेला केही कुखुरा मात्र बाँकी हुन्छ। किसान मारमा परेका छन्।’

प्राविधिक समितिले सरोकारवालाको सहमतिमा प्रतिगोटा जिउँदो लेयर्स ९ सय, ब्रोइलर ४ सय, दाना प्रतिकिलो ६५ र अण्डा प्रतिगोटा ११ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ।