डिभाइडर हट्दै, सवारी विसान हटेन

डिभाइडर हट्दै, सवारी विसान हटेन

धनगढी । कैलालीको अत्तरिया–मोहना पुल छ लेन सडकमा राखिएको डिभाइडर हटाउने काम आईतबारदेखि शुरु भएको छ । डिभाइडरका कारण सडक साँघुरिदै गएको र दुर्घटना बढिरहेकोले जिल्ला ट्राफिक प्रहरी कार्यालयले हटाउन शुरु गरेको हो ।

धनगढी उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालय कैलालीले संयूक्त रुपमा ट्राफिक चौराहादेखि राजपुरसम्म रहेका डिभाईडर हटाउन लागेको भर्खरै सरुवा भएर आएका ट्राफिक प्रमुख विरेन्द्रसिंह जोहारीले बताए ।
आईतबार र सोमबार सो सडकखण्डका डिभाइडर हटाउने क्रम जारी रहेपनि सो सडक क्षेत्रमा रहेका ठुला तथा साना सवारी विसान ‘पार्किङ’ भने हट्न सकेको छैन् । विशेषत धनगढीको मुख्य ट्राफिक चौराहामा यात्रुबाहक सवारी साधनको विसान हुने गरेको छ । सडकभित्र सवारी विसान गर्दा सवारी दुर्घटना बढ्ने भएपनि प्रहरीले त्यसमा ध्यान दिन नसकेको स्थानीय राम बोहराले बताए ।

‘सडकमा जथाभावी यात्रुवाहक सवारी विसान गर्दा सवारी आवतजावतमा समस्या हुने गर्छ’ उनले भने –‘डिभाइडर हटाएरमात्र हुँदैन । सवारी साधन व्यवस्थापन गर्न पनि आवश्यक रहेको छ ।’

ट्राफिक चौराहामा यात्रुवाहक बस तथा भ्यानहरुले धनगढीदेखि विभिन्न स्थानमा यात्रा गर्ने सवार यात्रुहरुको पायकका लागि आधादेखि ४५ मिनेट सवारी विसान गर्ने गरेका छन् । 

ट्राफिक चौराहमात्र नभई सो सडकखण्डका मुख्यतः बढी भिडभाड हुने मार्ट, अस्पताल, सवारी मर्मत केन्द्र (ग्यारेज), होटल नजिकमा सडक क्षेत्रमै सवारी विसान गर्ने गरिएको छ । 

धनगढीको माया मेट्रो, सिपी, केजी अस्पताल तथा विभिन्न बैंक, मार्टहरु नजिक सडक क्षेत्रमै सवारी विसान गरिएको छ । 
ट्राफिक प्रमुख जोहारीले भने –‘सडक व्यवस्थापन गर्ने क्रममा दुर्घटना हुन नदिन छ लेन सडकको डिभाइडर हटाउनका साथै सवारी विसान पनि हटाउन अनुरोध गरिएको छ ।’

उनले पहिलो दिन भएकाले सो सडकमा राखिएका सवारी साधनलाई चेतावनीसहित छोडिएको बताए । उनले भने –‘शुरुमा चेतावनी दिएका छौं । भोलीदेखि सवारी विसान नगर्न माईकिङ गर्छौ । नियमको पालना नगरेमा नियमानुसार कारबाहीको दायरामा ल्याईने छ ।’

उनले सडक क्षेत्रभित्र सवारी विसान गरेको पाइएमा न्यूनतमा पाँच सय रुपैयाँ जरिवाना गर्ने, अर्को पटक भेला परे जरिवानासंगै सवारी साधन नियन्त्रणमा लगिने बताए ।

सडकपेटीमै सवारी विसान

No description available.ठुल–ठुला व्यवसाय भएका क्षेत्रमा सडकभित्रै सवारी विसान छ भने स–साना व्यवसायीहरुका पसल अगाडि रहेको फुटपाथ (मानिस हिड्ने क्षेत्र) मै सवारी विसान गरिएको छ ।

सामान खरिद गर्न आउने ग्राहकहरुलाई सवारी विसान समस्या भएकाले फुटपाथमै सवारी विसान बनाइएको व्यवसायीहरुको प्रतिक्रिया रहेको छ ।

फुटपाथमै सवारी राख्दा आवत–जावत गर्ने मानिसहरुलाई समस्या हुने गरेको छ । उनीहरु भन्छन् –मान्छे हिड्ने ठाउँमा सवारी साधन राख्दा सडकमा हिड्नुपर्ने अवस्था रहेको छ । सडकमा हिड्दा दुर्घटनाको जोखिम पनि रहने गरेको उनीहरु बताउँछन् । 

सडक व्यस्थापन प्रमुख होः प्रमुख जोहारी

कैलाली ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका जोहारीले कैलालीको ट्राफिक व्यवस्थापनमा आफनो प्रमुख उद्देश्य रहेको बताएका छन् ।

कैलालीका सडकमा थुप्रै समस्या रहेकाले प्रमुख समस्या पहिचान गरि आफु अघि बढ्ने बताए । उनले भने –‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र सडक लेन क्रस गर्ने व्यक्तिहरुलाई नियम अनुसार कारबाहीको दायरामा ल्याउने छु ।’
उनले छाडा पशु चौपायाका कारण सडक दुर्घटना बढ्दै गएकाले यसका लागि स्थानीय तहसंग समन्वय गरेर अघि बढ्ने बताए ।