कैलाली जिल्लामा विद्यालय भर्ना अभियानमा तिब्रता

कैलाली जिल्लामा विद्यालय भर्ना अभियानमा तिब्रता

हरेक बर्ष नया शैक्षिक सत्रको शुरुवातमा मनाइने विद्यालय भर्ना अभियान देशब्यापी रुपमा शुरु भएको छ । कैलालीमा पनि भर्ना अभियानलाई तीव्रता दिइएको छ ।

विगतका बर्ष झै यस बर्ष पनि शिक्षक, शिक्षिका, विद्यार्थी, जनप्रतिनिधि, संघसंस्थाले भर्ना अभियानलाई प्राथमिकता दिएका छन् ।

विद्यार्थी भर्ना अभियानलाई सार्थक बनाउन घरदैलो अभियान समेत गर्न थालिएको छ । विद्यालय जान उमेर पुगेका कोही पनि बालबालिका नछुटुन भनेर घरदैलो गर्न लागिएको विभिन्न विद्यालय तथा जनप्रतिनिधिले बताएका छन ।

पछिल्लो समय अभिभावक तथा विद्यार्थीहरु निजी विद्यालय जान थाले पछि सामुदायिक विद्यालयमा विद्यार्थीहरुको चाप घट्दै जान थालेको छ ।

पछिल्लो केही बर्ष यता सरकारी विद्यालयमा पढाइको गुणस्तर खस्किदै गएको भन्दै अभिभावक तथा विद्यार्थीहरु निजि बिद्यालय तिर आकर्षित हुन थालेका छन । सामुदायिक विद्यालयमा पढाई नराम्रो हुने गरेको कतिपय अभिभावक तथा विद्यार्थीको बुझाई रहेको छ ।

धनगढीको त्रिनगर माध्यमिक विद्यालयले पनि विद्यार्थी भर्ना अभियान चलाई रहेको बताएको छ । त्रिनगर माध्यमिक विद्यालयले धनगढी उपमहानगर पालिकाको वडा नम्बर एकमा घरदैलो अभियान चलाएर विद्यार्थी भर्नाका लागि अभिभावकलाई प्रेरित गरेको बिद्यालयका प्रधानाध्यापक भुपाल सिंह खड्काले बताउनुभयो ।

नयाँ शैक्षिक सत्र सुरु हुदाँ तामझामका साथ सुरु हुने भर्ना अभियान प्रभाबकारी भने हुनसकेको छैन । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सख्या घट्दै गएको भनिएता पनि धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा बिद्यार्थीको चाप बढ्दै जादाँ व्यवस्थापनमा समस्या हुने गरेको शिक्षक बताउनुभयो ।

अंग्रेजी माध्यममा पढाउन शुरु गरेपछि सो विद्यालयमा विद्यार्थीहरुको चाप बढ्न थालेको हो । विद्यालयसित कक्षाकोठा थोरै हुँदा ब्यस्थापन गर्न गाह्रो हुने भएकोले आउने जति सबैलाई भर्ना लिन सकिने अवस्थामा विद्यालय नरहेको विद्यायलयका सहायक प्रधानाध्यापक गणेशदत्त जोशीले बताउनुभयो ।

उहाँले विद्यार्थीहरु भर्ना गर्न आउदाँ आफुले फर्काउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।यस्तै अंग्रेजी माध्यममा नया भर्ना हुन आउने विद्यार्थीकाके चाप विद्यालयको भौतिक संरचनाले थेग्नेभन्दा बढी रहेको गदावरी नगरपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अंग्रेजी माध्यम बिभाग प्रमुख बासुदेश जोशीले बताउनुभयो ।

सामुदायिक बिद्यालयमा बिद्यार्थीको सख्या घट्दै जानुको प्रमुख कारण अभिभावक तथा विद्यार्थीको सामुदायिक बिद्यालय प्रतिको अविश्वास हो । सामुदायिक विद्यालयको भन्दा निजी विद्यालयले गुणस्तरीय शिक्षा नदिएको धनगढी उपमहानगरपालिका शिक्षा शाखा संयोजक बीर बहादुर नेपालीले दाबी गर्नुभयो ।

 निजी बिद्यालयको तुलनामा सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षा दिने गरेको उहाँले दाबी छ । कैलालीमा अझै पनि सबै विद्यार्थी विद्यालयको पहुँचमा आउन सकेका छैनन् ।

जनजाति, दलित, पिछडिएका, सीमान्तकृत समुदायका बालबालिका विद्यालय जानबाट बञ्चित हुने गरेको विगतको तथ्याङ्कले पनि देखाउने गरेको छ । त्यसैले विद्यार्थी भर्ना अभियानमा सबैले हातेमालो गरेर विद्यार्थीहरुलाई शिक्षाको पहुचँमा ल्याउन आवस्यक छ ।