फागुन १ गते सुदूरपश्चिममा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गर्न आउँदै प्रम प्रचण्ड

फागुन १ गते सुदूरपश्चिममा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गर्न  आउँदै प्रम प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठुला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने तयारी गरेका छन्। सुदूरपश्चिमबाट निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अवलोकन तथा निरीक्षण गर्न आगामी फागुन १ गते प्रधानमन्त्री दाहाल कञ्चनपुर आउने भएका छन्।

गत सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग प्रधानमन्त्री प्रचण्डले आफूले छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठुला आयोजनाको निरीक्षण गर्न लागेको बताएका थिए।

उनले त्यहाँ विकासे योजनाको अनुगमन गर्ने जनाइएको छ। मुख्यमन्त्री रावलले प्रधानमन्त्री दाहाल सुदूरपश्चिममा निरीक्षण गर्न आउने भएपछि प्रदेशका सचिव, उपसचिवलाई त्यसको तयारीमा जुट्न निर्देशन दिएको मुख्यमन्त्री सचिवालयका एक सदस्यले बताए। मुख्यमन्त्री रावल काठमाडौँ गएको एक सातापछि हिजो बिहीबार मात्रै गृह प्रदेश सुदूरपश्चिममा फर्केका हुन्।

उनका अनुसार विकासे योजनाको निरीक्षण गर्न आउने भएकाले तयारीमा जुट्न मुख्यमन्त्रीज्यूले मातहत निकायलाई निर्देशन दिएको उनले भने। साथै उनले समिति गठन गरेर तयारीको काम अगाडि बढ्ने जानकारी दिए। कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, निर्माणाधीन महाकाली करिडोर, दैजी–छेला औद्योगिक क्षेत्र, पश्चिम सेती जलविद्युत आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, सेती लोक मार्ग र गेटा मेडिकल कलेज लगायत विभिन्न राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री दाहालले निरीक्षण गर्ने छन्।

प्रधानमन्त्री दाहालले फागुन १ गते कञ्चनपुरका गौरवका आयोजनाको निरीक्षणमा आउँदा महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घ अध्यक्ष पीताम्बर जोशीले बताए। उनले त्यसको तयारीमा हामी जुटिसकेको बताए । केही दिन अघि काठमाण्डौँमै कञ्चनपुरका उद्योगी, व्यवसायीहरूले प्रधानमन्त्री दाहाललाई भेटेर मेला उद्घाटनको निम्तो दिएका थिए। मेला उद्घाटनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सहभागी हुने उनले बताए । स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरूको हालको अवस्था, प्रगति विवरण तथा बजेटको अवस्थाको बारेमा जानकारी लिनेछन्।

यस्तै, अन्य राष्ट्रिय गौरवका आयोजनामा बबई सिँचाइ आयोजना,सिक्टा सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, बूढी गण्डकी जलविद्युत् आयोजना, भैरहवा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल,पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, पूर्व–पश्चिम रेलमार्ग, मध्य पहाडी (पुष्पलाल) लोक मार्ग, हुलाकी लोक मार्ग, उत्तर–दक्षिण (कोसी) लोक मार्ग, उत्तर–दक्षिण (काली गण्डकी) लोक मार्ग, उत्तर–दक्षिण (कर्णाली) लोक मार्ग, काठमाडौँ–तराई मधेस द्रुत मार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, मेलम्ची खानेपानी आयोजना रहेका छन् ।