फेसबुकले कपी गर्‍यो १५ लाख प्रयोगकर्ताका इमेल

फेसबुकले कपी गर्‍यो १५ लाख प्रयोगकर्ताका इमेल

सोसल मिडिया साइट फेसबुकले प्रयोगकर्ताको अनुमतिविनै अनधिकृत रुपमा १५ लाख प्रयोगकर्ताका इमेल ठेगानाहरु अपलोड गरेको स्वीकार गरेको छ ।तर आफूले नियतबस यस्तो काम नगरेको फेसबुकको दाबी छ ।

नयाँ सदस्यको पहिचानको आधिकारिकता प्रमाणित गर्ने प्रणालीमार्फत प्रयोगकर्ताका डाटा यसरी उपयोग हुन गएका फेसबुकको भनाई छ ।

फेसबुकले आफ्ना नयाँ प्रयोगकर्तालाई आफ्नो इमेल अकाउन्टको पावसर्ड समेत उपलब्ध गराउन आग्रह गरेको र प्रयोगकर्ताको इमेल ठेगाना कपी गरेको थियो ।

यस विषयमा गलत भएको महसुस भएसँगै अहिले फेसबुकले नयाँ प्रयोगकर्ताको पहिचान प्रमाणित गर्ने फरक विधि अबलम्बन गरेको र इमेल कपी गर्न छाडेको बताएको छ ।

विगतमा यसरी इमेल ठेगाना लिइएका प्रयोगकर्तालाई जानकारी गराइने र उनीहरुका संकलित इमेल जानकारीहरु डिलिट गरिने पनि फेसबुकले जनाएको छ ।

फेसबुकले यसरी संकलन गरेका प्रयोगकर्ताका जानकारीहरु प्रयोगकर्ताबीचको व्यक्तिगत तथा सामाजिक सम्बन्धहरुको बारेमा थाहा पाउनका लागि प्रयोग गर्ने गरेको अनुमान गरिएको छ ।

बिजनेस इनसाइडरले फेसबुकको यस कार्यको बारेमा सबैभन्दा पहिले समाचार सार्वजनिक गरेको थियो । प्रयोगकर्ताको अनुमति विना यसरी कन्ट्याक्टहरु संकलन गर्न थालिएको सन् २०१६ को मे महिनादेखि भएको फेसबुकले स्विकार गरेको छ ।