राप्रपाका अध्यक्ष कमल थापासहित दर्जन बढी नेता रत्नपार्कबाट पक्राउ

राप्रपाका अध्यक्ष कमल थापासहित दर्जन बढी नेता रत्नपार्कबाट पक्राउ

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायत छन् । काठमाडौँको रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा  प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए । 

यसअघि कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए । ‘धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको हो’ थापाको आरोप छ । राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।