सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन नागरिक उन्मुक्तिकै भर

सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन नागरिक उन्मुक्तिकै भर

धनगढी। सुदूरपश्चिम सरकारलाई विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टीकै भर पर्नु पर्ने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्रीमा राजेन्द्र सिंह रावल निर्वाचित हुँदा पनि आफू सदस्य रहेको एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

यस प्रदेशमा सभामुख, उप-सभामुखमा सत्ता गठबन्धनकै सदस्य निर्वाचित हुनमा पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थकीय भूमिकाले महत्त्वपूर्ण भूमिका खेलेको थियो । 

सभामुख र उप-सभामुखमा तटस्थ बस्ने आफ्नो अडान राखेको नाउपाले शीर्ष नेताको सल्लाह र छलफलपछि मात्रै सत्ता गठबन्धनलाई समर्थन दिँदै आएको छ । 

यो घटनाक्रम हेर्दा पनि सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ ११ गते विश्वासको मत लिने तयारी गरिरहँदा पनि विश्वासको मतमा बहुमत मत प्राप्त गर्नका लागी नाउपाकै भर पर्नु पर्ने अवस्था देखा परेको हो । 

नाउपाले रेशम चौधरी लगायत टिकापुर घटनाका राजबन्दी रिहाइको माग पुरा नभएसम्म विश्वासको मत नदिने बताएपछि रावल विश्वासको मत प्राप्त गर्न सुदूरपश्चिमका नेताहरू सहित काठमाडौँ शीर्ष नेतासँग भेटघाटमा व्यस्त रहेका छन् । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यलाई सरकारमा नजान भने पनि एमालेलगायत माओवादी केन्द्रले सरकारमा जानै पर्ने अडान राखिरहेका छन्।गठबन्धनको शीर्ष तहमा सहमति खोज्न र उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई मनाउन सत्तारुढ गठबन्धन नेताहरू काठमाडौँको डिल्लीबजारस्थित कारागारमै जाने तयारीमा समेत छन्।

स्रोतका अनुसार मुख्यमन्त्री रावल, विना विभागीय मन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीलगायतका प्रदेशसभा सदस्य र नेताहरू काठमाडौँमा छन्। 

त्यहाँ उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीसँग समझदारी गर्ने प्रयास गर्नेछन्। 

अहिले सरकारले विश्वासको मत पाउन र मन्त्रिमण्डल विस्तारका लागि सँगैसँगै छलफल चलाइरहेको सरकारका प्रवक्ता एवम् बिना विभागीय मन्त्री खगराज भट्टले बताए ।

विश्वासको मत प्राप्ति र मन्त्रिपरिषद् विस्तारका लागि सरकारले सत्ता साझेदार दलका शीर्ष नेतृत्वसँग छलफल चलाइ रहेको उनको भनाइ छ। 

मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्थाअनुसार मुख्यमन्त्री रावलले विश्वासको मत लिने वातावरण बनाइरहेको नेकपा (एमाले) का प्रदेश कमिटी सचिवसमेत रहेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए । 

५३ जना प्रदेश सभा सदस्य रहको सुदूरपश्चिम प्रदेशमा उपसभामुख चयन हुन २७ मत आवश्यक पर्छ। यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन्। यता काँग्रेस गठबन्धनमा काँग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद रहेका छन् ।
यद्यपि, विश्वासको मत कहिले लिने भन्ने निर्णय भइसकेको छैन ।