छ महिनापछि १० घण्टा चलेको बैठक औपचारिक निर्णय नगरेरै सकियो

छ महिनापछि १० घण्टा चलेको बैठक औपचारिक निर्णय नगरेरै सकियो


धनगढी–   नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक ६ महिनापछि बिहीबार धनगढीमा बसेको छ । 
१० घण्टा भन्दा बढी समयसम्म चलेको दलको बैठकले केही पनि ठोस निर्णयहरु भने गरेको छैन् । सरकार र मन्त्रीहरुले संधै सासंदहरुलाई वास्ता नगर्ने गरेकाले बिहीबारको बैठकमा उठेका बिषयहरुमा लिखित निर्णय हुनुपर्ने सासंदहरुको माग पुरा हुन सकेन ।

दलका नेता मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीका नेताहरुको उपस्थितमा अर्को बैठक राख्ने र त्यसपछि लिखित निर्णय गरौंला भन्दै बिहीबारको बैठकलाई अनौपचारिक छलफलमै टुंग्याइदिएका छन । दलको बैठकमा उपस्थित सासंदहरुले प्रदेश सरकारको कार्यशैलीको चर्को बिरोध गरेका छन् । 
हरेक मन्त्रालयको भौतिक प्रगति सन्तोषजनक नरहेको, मन्त्री र मन्त्रालयसित सम्बन्ध राख्ने बिभिन्न बिषयमा अनियमितताका कुराहरु संचार माध्यममा आएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार प्रदेश सरकारले आर्थिक अनुशासन पालना गर्न नसकेको जस्ता बिषयमा दलको बैठकमा छलफल भएको थियो । सरकारका मन्त्रीहरुको कार्यक्षमता माथि पनि सांदहरुले प्र्रश्न उठाएको बुझिएको छ ।
सरकारमा रहेका मन्त्रीहरुले भने प्रदेश सभामा बोल्दा सत्तापक्ष नै प्रतिपक्ष जस्तो गरी प्रस्तुत हुन थालेको भन्दै सांसदहरुको आलोचना गरेका थिए । जवाफमा सासंदहरुले आफुले आफ्नो कुरा राख्ने ठाउँ संसदीय दल भएको तर त्यसको बैठक लामो समय सम्म नबोलाइँदा सभामै बोल्नुपरेको बताएका थिए ।

बैठकमा सांसदहरुले आफु जनताको प्रतिनिधि भएको र जनताको आवाज बोल्दा सरकारको बिरोध गरेको नठान्न मन्त्रीहरुलाई जवाफ दिएका दिए । 
बैठक सकिएपटि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सांसदहरुले बजेटको कार्यान्वयन चाँडो गर्न, जनताका अपेक्षा पुरा गर्न र छिटो काम गर्न सरकारलाई ताकेता गरेकोले त्यसलाई आफुहरुले स्वाभाविक रुपमा लिएको बताए । “

काम चाँडो होस भन्ने भावना नै उहाँहरुको देखियो”, उनले भने–“सासंदहरु जनताका प्रतिनिधि हुन, जनताका कुरा सरकारसित राख्न बोल्ने ठाउँ भनेकै संसद हो, त्यहाँ बोलेका कुरालाई अन्यथा लिइनु हुदैन ।” संसदमा बोल्दा भने संसदीय दलमा अनौपचारिक छलफल गरेरै भएपनि त्यसपछि मात्रै बोल्न दलको बैठकमा सासंदहरुलाई अनौपचारिक रुपमै भनिएको उनले जानकारी दिए । 
नेकपाको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले सरकारर सासंदहरुका अहिलेसम्मका कामका बारेमा संसदीय दलका गँभीर समिक्षा भएको बताए । उनले प्रदेश सभामा सासंदहरुले सरकारको बिरोध गरेको भन्ने आम भनाई सत्य नभएको बताउँदै प्रमुख सचेतक तामाङले सांसदले जनसरोकारका बिषय उठाउने थलो नै संसद भएकोले त्यहाँ बोलिएका कुरालाई सरकारको बिरोधको रुपमा भन्दा पनि जनसरोकारका बिषयमा बोलेको रुपमा बुझ्नुपर्ने बताए ।

“हामीले सरकारले गल्ती नै गरिरहेको छ भनेका छैनौ”, प्रमेख सचेतक तामाङले भने–“जनताले दुःख पाएको कुरा बोलिएको हो, बोल्दा कहिले शैली नमिलेको हुनसक्छ, त्यसलाई नै सरकारको बिरोधको गरेको भन्न हुदैन ।” 
उनले चालू आर्थिक बर्षको बजेटको सफल कार्यान्वयन र आँउदो बर्षको बजेट निर्माणमा सांसदहरुको भूमिकाका बिषयमा पनि छलफल भएको बताए ।