दार्चुलामा प्लाष्टिक जस्तो देखिने चामल बरामद

दार्चुलामा प्लाष्टिक जस्तो देखिने चामल बरामद

दार्चुला । दार्चुलाको खलंगा नाकाबाट भित्रिएको एक बोरा चामलमा अखाद्य वस्तु रहेको पाइएको छ । भारतीय बजार धारचुलाबाट महाकाली नगरपालिका–१ लास्कुकी कलावती भूलले ल्याएको ४० केजीको चामलको बोरामा प्लाष्टिक जस्तो देखिने चामल फेला परेको भन्सार कार्यालय दार्चुलाका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए ।

उक्त चामलमा अखाद्य वस्तु मिसावट भएको हुन सक्ने अनुमान गरिएको छ । ती प्लाष्टिक जस्तो देखिने चामल बाल्दा आगो फुट्ने र गल्ने तथा प्लाष्टिकको गन्ध आउने गरेको उनले बताए ।

खुला बोरामा चामल आएकाले चेकजाँच गर्दा प्लाष्टिकजस्तो देखिने वस्तु फेला परेको उनको भनाइ छ । जिल्लामा पहिलो पटक यस्तो चामल फेला परेको बताइएको छ ।

अहिले उक्त चामललाई बरामद गरी भन्सार कार्यालयमा राखिएको छ । अखाद्य चामल भए नभएको जाँच गर्न नमुना अनुसन्धानका लागि खाद्य विभागलाई पठाउन सकिने कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताए ।