बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले एजेन्डा नभएपछि प्रदेश सभाको बैठक स्थगित भएको जनाएको छ।
गत मंगलबार प्रदेशसभा बैठकले दुई वटा विधेयकहरूलाई पुनः समितिमा पठाउने निर्णय गरेको थियो। ‘प्रदेशसभा सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘प्रदेशसभा नियमावली २०७४ को संशोधन मस्यौदा समितिको प्रतिवेदन सहितको नियमावलीको मस्यौंदा’लाई पुनः समितिमा पठाउने निर्णय गरेको छ।
‘बिहीबारसम्म विधेयकमा छलफल पुरा नभएपछि बैठक स्थगित भएको हो’ सचिवालयमा निमित्त सचिव तेजप्रकाश जोशीले बताए।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा रहेको स्वरोजगार कोषसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल पनि पूरा नभएकाले बैठक स्थगित गरिएको हो। प्रदेशसभाको अर्को बैठक ८ गते दिउँसो २ बजे आह्वान गरिएको छ।