आखिर कति पिउने पानी ? ८ गिलासको भ्रम

आखिर कति पिउने पानी ? ८ गिलासको भ्रम

‘धेरै पानी पिउनुपर्छ । दैनिक आठ गिलास अर्थात कम्तीमा दुई लिटर त पिउनैपर्छ ।’ यस्तो नमागिएको सुझाव हामी प्रायः हरेह दिन पाउने गर्छौं ।  पानी जीवन हो । पानीको महत्व हाम्रो जीवनमा अहम् छ । यसकारण बढीभन्दा बढी पानी पिउनुपर्छ । तर पानीका विषयमा यस्तो चर्चा, सुझाव वा चासो पहिला थिएन । 

उन्नाइसौं शताब्दीको सुरुआती समयमा त पानी पिउनु खराब मानिन्थ्यो । उपल्ला तह वा धनी मान्छे त पानी पिउनुलाई अपमान सम्झन्थे । तिनलाई लाग्थ्यो– पानी पिएर पेट भर्ने काम गरिबको हो । धनीले पानी पिउनु भनेको इज्जतविपरीत काम थियो । 

तर, अचेल बेलायतका मान्छेहरु खुब पानी पिउँछन् । उता, अमेरिकामा बोतलबन्द पानीको माग सोडाभन्दा बढी हुन थालेको छ । एसियाली पनि खुब पानी पिउन थालेका छन् ।

नपिउन् पनि किन ! रात–दिन जो पनि पानी पिउने सल्लाह दिइरहेका छन् । बढी पानी पिउँदा स्वास्थ्य राम्रो हुने तथा अनुहार चम्किलो बन्ने विश्वास गर्न थालिएको छ । यसका अतिरिक्त बढी पानी पिउनाले क्यान्सर नलाग्ने अनि तौल नियन्त्रण हुने चर्चा पनि उत्तिकै चलेको छ । 

लन्डनमा मेट्रो प्रयोग गर्नेहरुलाई पानी साथै लिएर जाने सल्लाह दिइन्छ । त्यहाँका कतिपय विद्यालय तथा कार्यालयमा पानीको कुरा नगरी अरु काम नै सुरु नहुने अवस्था छ । भन्दै आइएको छ– दैनिक आठ ग्लास वा २४० मिलिलिटर पानी अनिवार्य पिउनुपर्छ । तर, यस्तो नियम कसले बनायो ?

वा यस्तो निर्णय कसले गरेको हो ? कुनै अध्ययन वा अनुसन्धानबाट अनि वैज्ञानिकले यस्तो दाबी आजसम्म गरेका छैनन् । तर पनि मान्छेहरु पानी पिउने विषयलाई लिएर किन यस्तो कुरा गरिरहेका छन् ? यसको रहस्य पुराना दुई ‘सल्लाह’मा लुकेको भेटिन्छ । 

सन् १९४५ मा अमेरिकाको फुड एन्ड न्युट्रिसन बोर्ड अफ नेसनल रिसर्च काउन्सिलले वयस्कलाई सल्लाह दियो– क्यालोरीयुक्त हरेक खानेकुरा पचाउन एक लिटर पानी पिऊ । यसको अर्थ, तपाईं दुई हजार क्यालोरी लिने महिला हुनुहुन्छ भने तपाईंले दुई लिटर पानी पिउनुप¥यो । २५०० क्यालोरी लिने पुरुष तपाईं हुनुहुन्छ भने दुई लिटरभन्दा बढी पानी पिउनुपर्‍यो । 

यसमा सादा पानीमात्र होइन, फलफुल, तरकारी तथा अन्य पेय पदार्थबाट प्राप्त हुने पानी पनि सामेल हुन्छ । फलफुल तथा सागसब्जीमा ९८ प्रतिशतसम्म पानी हुन्छ । साथै, सन् १९७४ मा मार्गरेट म्याक्विलियम्स र फ्रेडरिक स्टेयरको पुस्तक ‘न्युट्रिसन फर गुड हेल्थ’मा सिफारिस गरिएको छ– हरेक वयस्कले दैनिक आठ गिलास पानी पिउनुपर्छ । 

यी दुई लेखकले यो पनि भनेका छन्– फलफुल तथा सागसब्जीबाट पाइने पानी त होइन, हल्का पेय तथा बियरबाट प्राप्त हुने पानी यो परिमाणमा सामेल हुन्छ । शङ्का के छैन भने, पानी हाम्रो लागि अत्यावश्यक तत्व हो । हाम्रो शरीरको तौलमा दुईतिहाइ हिस्सा पानीको हुन्छ ।

यसको माध्यमबाट हामीलाई पोषकतत्व मिल्छ । पानीले शरीरभित्रको खराब तत्व बाहिर निकाल्न पनि मद्दत गर्छ । शरीरको तापमान नियमित गर्नुका साथै शरीरभित्रका कतिपय केमिकलको रियाक्सन पानीले नै नियन्त्रण गर्छ । 

पसिना, पिसाब तथा स्वासबाट पनि शरीरबाट पानी बाहिर निस्किरहेको हुन्छ । यसकारण पनि त्यसलाई नियमित राख्न पानी पिउनु आवश्यक छ । शरीरभित्र पानी कम हुँदा अनेक समस्या उत्पन्न हुन सक्छ । 

८ गिलासको भ्रम

दैनिक आठ गिलास पानी पिउनैपर्ने कुरा एक प्रकारको भ्रम हो । अध्येता–अनुसन्धाता भन्छन्– शरीरलाई जतिमात्रामा पानी आवश्यक हुन्छ त्यति नै पिउनुपर्छ । कुनै पनि स्वस्थ दिमागलाई थाहा हुन्छ कि, शरीरले पानीको माग गरेको र नगरेको । शरीरले पानी माग गर्दा पिउनु नै बुद्धिमानी हो

। जब शरीरमा पानी कम हुन्छ तब पिसाब पहेंलो हुन थाल्छ । यसको अर्थ शरीरभित्र पानी आवश्यक परेको छ । त्यस्तो समयमा शरीरले पिसाब कम निकालेर भित्रको पानीको मागलाई पूर्ति गरिदिन्छ वा पानीको बचावट गरिदिन्छ ।

बेलायती चिकित्सक तथा खेलाडीका सल्लाहकार कोर्टनी टिप्स भन्छन्, ‘तपाईं शरीरको कुरा सुन्नुहुन्छ भने, तपाईंलाई कुनबेला तिर्खा लाग्छ ? तिर्खा लाग्नुको अर्थ शरीरमा पानीको मात्रा कम भएको लामो समय हुनु होइन । हजारौं वर्षदेखि मान्छेहरु तिर्खा लाग्दा पानी पिउँदै आएका छन् । शरीरले पानीको मागको गलत सङ्केत कहिल्यै गर्दैन ।’

जब तिर्खा लाग्छ तब पानी पिउनु सबैभन्दा राम्रो विकल्प हो । पानीमा क्यालोरी हुँदैन । तिर्खा लाग्दा अन्य पेय पदार्थबाट पूर्ति गर्नु उचित हुँदैन । धेरै पानी पिउँदैमा मान्छे स्वस्थ हुने कदापि होइन । तिर्खा लाग्दा वा सामान्य अवस्थमा केही बढी पानी पिउनु हानिकारक पनि हुँदैन ।