जसका कारण सभामुख बन्न पाएनन भण्डारी

जसका कारण सभामुख बन्न पाएनन भण्डारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि बिहीबार भएको निर्वाचनमा रोचक बन्यो । 

दुईपल्ट स्थगित हुँदै अघि बढेको सभामुख चयन प्रक्रिया अन्तिममा १ मतका कारण पुन: शुक्रबार गर्नुपर्ने भयो ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारीले २६ र नेपाली काग्रेसका उम्मेद्वार मान बहादुर रावलले २३ मत पाए ।

बहुमत पुर्याउन २७ सदस्य आवश्यक भएपनि कसैको बहुमत नपुगे भएपनि सभामुख चयनका लागि भोली बिहान ११ बजे पुनः बैठक आह्वान गरिएको हो ।

सभामुखमा नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी(नाउपा) र राप्रपाले गठबन्धन गरेका थिए । सो आधारमा भण्डारीले २९ मत पाउँदै आजै सभामुख निर्वाचित हुनुपर्ने हो । 

तर भण्डारीलाई मत दिनुपर्ने एक जनाले बदर (अन्यमा चिन्ह लगाएको) गर्दा र दुई जना अनुपस्थित हुँदा उनी आज सभामुख बन्न पाएनन । 

अनुपस्थित हुनेमा डोटीबाट निर्वाचित एमालेका चक्र मल्ल र कैलालीबाट निर्वाचित नाउपाका लक्ष्मण किशोर चौधरी थिए । 

नेकपा एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकका अनुसार मल्ल पार्टीलाई समेत जानकारी नदिएर सांसदमा उपस्थित नभएका हुन् ।

‘के कारणले अनुपस्थित हुनुभयो उहाँलाई नै सोध्नुपर्ला । पार्टीलाई थाहा नै दिनुभएको छैन,’ पाठकले धनगढीखबरसँग भने, ‘उहाँमाथि कारबाहीका लागि पार्टीभित्र छलफलको विषय बन्छ ।’

यस्तै नागरिक उन्मुक्ति पार्टीका चौधरी सञ्चो नभएका कारण आउन नसकेको भन्ने खबर अरुबाट सुनेको सोही पार्टीकी सांसद इन्दिरा गिरीले बताईन । तर पार्टीलाई जानकारी गराएको वा नगराएको बारे आफु अनविज्ञ रहेको उनले बताईन ।

यद‍्दपी पछि धनगढीखबरसँगको सम्पर्कमा आएका लक्ष्मण चौधरीले आफू सांसदमै उपस्थित भएको तर आफ्नो अधिकारको कुरा भएर भोट नदिएको बताए ।