विकासको खाका तयार भएको दाबी

विकासको खाका तयार भएको दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दोस्रो कार्यकालको प्रदेश सरकारले पहिलो कार्यकालको प्रदेश सरकारले झेलेका समस्याहरु भोग्न नपर्ने गरी आधारशिला तयार गरेको बताएका छन् ।

दोस्रो प्रदेश सरकार गठन हुन एक दिन बाँकी रहँदा मंगलबार प्रदेश सरकारको पहिलो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मातहतका कार्यालय स्थापना, अत्यावश्यक कानुन निर्माण, आगामी पाँच वर्षका लागि प्रदेशको योजनाबद्ध विकासको खाता, नीति तथा योजनाहरु बनाइसकेकाले आगामी सरकारले बजेट ल्याउन र कार्यान्वयन गर्न समस्या भोग्न नपर्ने बताएका हुन् ।

उनले हिजोका चिन्तनमा परिवर्तन हुन नसकेकाले बजेट कार्यान्वयन र सेवा प्रबाहमा केही समस्याहरु देखिएको बताए । मुख्यमन्त्री भट्टले पहिलो कार्यकालमा भएका राम्रा कामका केही परिणामहरु आइसकेको र केही आउने क्रममा रहेको बताए । उनले प्रदेश सरकारले कृषि, पर्यटन, जडिबुटी र भौतिक संरचना निर्माणलाई मुख्य प्राथमिकतामा राखेर पाँच वर्षसम्म आफूले प्रदेश सरकारको नेतृत्व गरेको बताए । प्रदेश सरकारले ४ सय १० किलोमिटर सडक कालोपत्रे गरेको मुख्यमन्त्री भट्टले बताए ।

उनले ७६९ किलोमिटर ग्राभेल र २ हजार ९२ किलोमिटर कच्ची सडक निर्माण गरिएको बताए । ५३ वटा सडक र झोलुंगे पुल निर्माण गरिएको बताउँदै मुख्यमन्त्री भट्टले ६६ वटा सडक र पुलका योजनाहरु बहुवर्षीय ठेक्कामार्फत् सञ्चालन भइरहेको बताए । त्यसबाट आगामी २ वर्षमा ७ देखि ८ सय किलोमिटर सडक कालोपत्रे हुने बताए । मुख्यमन्त्री भट्टले ७र७ मेगावाट दुई वटा जलविद्युत आयोजनाको सर्भे र डीपीआर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

उनले सिंचाईतर्फ १ सय ९० किलोमिटर पक्की कुलो, २ सय किलोमिटर कच्ची कुलो र एक हजार ८सय ३ वटा डिप बोरिङमार्फत १२ हजार ९ सय ४४ हेक्टर जमीनमा सिंचाई सुविधा पुर्‍याएको बताए । १ सय ५७ किलोमिटर तटबन्ध निर्माण गरिएको मुख्यमन्त्री भट्टले बताए । उनले २ हजार ९ सय ६० वटा नीजि आवास र ४ सय १७ वटा सामुदायिक भवन निर्माण गरिएको बताए । एक हजार ८ सय ६२ वटा संघीय सशर्त र ७ सय २३ वटा प्रदेश खानेपानी योजना निर्माण गरिएको मुख्यमन्त्री भट्टले बताए ।

मुख्यमन्त्री भट्टले एक हजार ९ सय ९२ कोठाका विद्यालयको कक्षा कोठा र १ सय ९३ वटा विद्यालयका अन्य भवन निर्माण गरिएको बताए । उनले प्रदेशका विद्यालयहरुमा २ सय ४५ वटा आइसिटी ल्याब निर्माण गरेको र ५३ वटा क्याम्पसको भवन निर्माण गरेको बताए । उनले प्रदेश प्रहरीको मुख्यालय भवन देशकै नमुना हुने गरी निर्माण सम्पन्न भएको बताए । प्रदेश सरकारले स्वास्थ्यमा समेत सुविधा थपेको बताउँदै मुख्यमन्त्री भट्टले प्रदेशका सबै अस्पतालहरुमा विशेषज्ञ सेवा दिने व्यवस्था गरिएको बताए ।

उनले बैतडी जिल्ला अस्पताललाई देशकै नमुना अस्पतालको रुपमा विकास गरिएको बताए । मुख्यमन्त्री भट्टले पाँच वर्षको अवधिमा मुख्यमन्त्री कृषि कार्यक्रमबाट ३ सय परिवार लाभान्वित भएको बताए । सो कार्यक्रमबाट ५ देखि ७ हजार जनाले रोजगारी पाएको बताउँदै उनले कृषिका अन्य कार्यक्रम र अनुदावनबाट ४ देखि ५ हजार युवाले रोजगारी पाएको बताए । उनले खाद्यान्न र अन्य बालीको विउ उत्पादन पनि प्रदेश सरकारको मुख्य उपलब्धी रहेको बताए ।

राम्रो कामको जस लिने दाउमा प्रगति विवरण सार्वजनिक गर्ने होड

मुख्यमन्त्री भट्टले प्रदेशको मन्त्रालयगत विवरणसहित २ सय २२ पृष्ठको प्रदेश सरकारको पहिलो कार्यकालको प्रगति विवरण मंगलबार बिहान सार्वजनिक गरे । त्यस लगत्तै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र आर्थिक मामिला मन्त्री प्रकाश रावलले समेत आआफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले सोमबार नै आफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका थिए । उनीहरुले प्रदेश सरकारको पहिलो कार्यकालको समग्र र आफ्नो कार्याकालमा गरिएको कामको विवरण सार्वजनिक गरेका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री सोडारीले प्रदेश सरकारले ४ सय किलोमिटर कालोपत्रे गरेकोमा आफ्नो कार्यकालमा ३ सय ६९ किलोमिटर थप कालोपत्रे गरी ७ सय ६९ किलोमिटर कालोपत्रे गरेको विवरण सार्वजनिक गरे ।

उनले प्रदेशमा २ लाख ४२ हजार ६ सय ९० जनालाई स्वच्छ खानेपानीको पहुँच पुगेको अवस्थामा आफ्नो कार्यकालमा थप ४३ हजार ६९३ जनालाई स्वच्छ खानेपानी पुगेको बताए । उनले ४ वटा यातायता व्यवस्था कार्यालय सुधार भई बाट प्रदेशमा ३ अर्ब ९० करोड ६७ लाख रुपैयाँ राजश्व संकलन भएको बताए । यसैगरी, आर्थिक मामिला मन्त्री रावलले प्रदेश सरकारले पाँच वर्षमा एक खर्ब ५३ अर्ब ६९ करोड ४९ लाख १७ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा पुस २५ गतेसम्म ८० अर्ब पाँच करोड २३ लाख ६६ हजार रुपैयाँ खर्च गरेको बताए ।

उनले सो अवधिमा प्रदेशमा ४ अर्ब ३५ करोड ७७ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको बताए । उनले संघबाट पाँच वर्षमा १ खर्ब ४८ अर्ब ६८ करोड ५० लाख ४९ हजार वित्तीय हस्तान्तरण प्राप्त भएको र सो अवधिमा प्रदेशका ८८ वटा स्थानीय तहलाई ११ अर्ब ३४ करोड ३३ लाख १७ हजार रुपैयाँ वित्तीय हस्तान्तरण गरिएको बताए ।

कानुनमन्त्री रावलले पनि आफ्नो मन्त्रालयले पाँच वर्षमा गरेका काम र आफ्नो कार्यकालमा गरेको कामको विवरण सार्वजनिक गरेका थिए । २०७४ फागुन ५ गते गठन भएको प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित ७ मन्त्रालयहरु छन् । बाँकी मन्त्रालयहरुले समेत पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेको मन्त्रालय स्रोतहरुले बताएका छन् ।