नेपालको ‘पहिलो स्याटेलाइट’ प्रक्षेपण आज राति २ बजेर ३१ मिनेटमा

नेपालको ‘पहिलो स्याटेलाइट’ प्रक्षेपण आज राति २ बजेर ३१ मिनेटमा

अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ ।

यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गर्न सबै तयारी सकिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ वैज्ञानिक रविन्द्र ढकालले जानकारी दिए ।

स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागिएको हो ।

कस्तो छ ? 

यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको  छ । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । प्रक्षेपणका  लागि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेलाई यो स्याटेलाइट हस्तान्तरण भइसकेको छ ।

वैज्ञानिक रविन्द्र ढकालका अनुसार यो स्याटेलाइट जेठको पहिलो वा दोस्रो साता अन्तरिक्षमा रिलिज हुनेछ । त्यसपछि यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ ।

‘यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि हामी पनि अध्ययन अनुसन्धान थाल्न सक्छौं,’ ढकालले भने, ‘स्पेश इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई  पनि यसले निकै सहयोग पुग्नेछ । उनीहरूलाई नेपालमै बसेर स्पेशबारे जानकारी लिने अवसर मिल्नेछ ।’

यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नाष्टको भनाइ छ ।

यो स्याटेलाइट पठाउन लागेको खर्च सरकारले नै ब्यहोरेको  छ ।  नेपाली स्याटेलाइट-वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ ।

ढकालका अनुसार केही दिनमै नेपाली स्याटेलाइट-१लाई नेपालकै पहिलो स्याटेलाइटका रुपमा दर्ता गरिँदैछ ।

भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्नेछ । यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरुको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नाष्टको भनाइ छ । साभार : अनलाईनखबर