कुमार भट्टराईका दुईवटा भजनसंग्रह एकैसाथ बजारमा

कुमार भट्टराईका दुईवटा भजनसंग्रह एकैसाथ बजारमा

काठमाडौं ।  एउटा इन्जीनियर, उनी टेक्नीकल कुरासँग बढी नजिक छन् । विद्युतिय संचार माध्यमको एउटा प्रफेक्ट त्यही इन्जीनियरको नाम हो – कुमार भट्टराई । यी कुमार भट्टराई उनै व्यक्ति हुन् जो राम्रा गीत सृजना गर्दछन् र विशेषगरी भजन गीतकारका रुपमा बढी परिचित छन् । उनै गीतकार कुमार भट्टराईद्धारा लिपिबद्ध २ वटा भजन संग्रह प्रज्ञा प्रतिष्ठानको सभाहलमा नेपाली काँग्रेसका महामन्त्री डा. शसाङ्क कोइरालाले एक भव्य समारोहका बीच एकैसाथ बीमोचन गरे । 

कार्यक्रममा राजनीतिक व्यक्तित्व, विभिन्न धार्मिक गुरुहरु, संचारकर्मीहरु, हिन्दु धर्मावलम्बीसँग सम्बन्धित बौद्धिक व्यक्तित्व एवं हिन्दु राज्यको आबश्यकता बोध गरिएका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  

कार्यक्रममा बोल्दै डा। शसाङ्क कोइरालाले धर्म स्वतन्त्रता हुन पर्ने र हिन्दु राज्य वा धर्म निरपेक्षताका बारे जनमत संग्रहमा जानुपर्ने बताए । उनले साहित्यकार कुमार भट्टराईको लेखनीको प्रशंसा पनि गरे । कार्यक्रममा  विश्व हिन्दु माहासंघका दामोदर प्रसाद गौतम, पुर्वमन्त्री एसवी कोइराला, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायतको उपस्थित थियो । 

बीमोचित एल्वममा निकै मर्मस्पशी भजनहरु संग्रह गरिएका छन । बिमोचित दुई कृति पछि गीतकार भट्टराईका एल्वमहरु ३ वटा पुगेका छन् । यसअघि उनले २०७१ मा अग्रता नामक एल्वम बजारमा ल्याएका थिए । नयाँ बिमोचित यी दुई एल्वम ‘शिव लिला’ र ‘अग्रता काली’ एल्वम हिन्दु धर्मसँग सम्बन्धित नेपाली भजनहरु हुन् । भट्टराईको ‘शिव लिला’ एल्वममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्मा ग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्वममा मनोजराज शिवाकोटी, इश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ । दुवै एल्वममा ६र६ वटा गीत समावेश छन् । सबै गीतमा बिजु बज्रको संगीत रहेको छ । 

वाल्यकालदेखिनै लेखन कार्यमा सक्रिय भट्टराईले रेडियो नेपालबाट वाल कविता प्रतियोगीमा धेरै पुरस्कारहरु प्राप्त गरेका थिए । २०५१ सालमा पहिलो गीत कविता संग्रह ‘मेरो जीवन ’ प्रकाशन गरेका उनको २०६० सालमा ‘स्वमुत्र चिकित्सा पद्धति’ नामक अर्को पुस्तक प्रकाशित छ । धार्मिक क्षेत्रका अध्ययेताका रुपमा समेत परिचित उनले धर्मशास्त्रलाई विज्ञान शास्त्र भन्दा बलियो शास्त्रका रुपमा लिन्छन् । संचार क्षेत्रमा परिचित भट्टराई कुशल लेखक एवं राम्रा गीतकारका रुपमा उत्तिकै परिचित रहँदै आएका छन् ।