एसएसविको ज्यादती अझै नरोकिएको नागरिकको गुनासो

एसएसविको ज्यादती अझै नरोकिएको नागरिकको गुनासो

हसुलियाः सीमा क्षेत्रमा भारतीय एसएसविको ज्यादती अझै नरोकिएको कैलालीको कैलारी गाउँपालिकाका नागरिकले गुनासो गरेका छन्। जनताका गुनासो सुन्नका लागि शनिवार हसुलिया पुगेका सुरक्षा निकायका प्रमुख समक्ष उनीहरूले भारतीय एसएसविले नेपालीमाथि दुव्र्यहार गर्ने गरेको, सहज रूपमा भारतीय बजार जान नपाएको लगायतका गुनासो गरेका छन्। 

स्थानीयबासीले शान्ति सुरक्षाको अनुभूति गर्न नसकेको, समयमा मलखान नपाएको लगायतका गुनासो गरेका थिए। सुरक्षा अधिकारीहरूले भने समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्। जनताको गुनासो सुन्न र शान्ति सुरक्षाको अवस्था बारे बुझ्न शनिवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू कैलारी गाउँपालिकाका पुगेका थिए। 

टोलीमा प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, सहित जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विनोद घिमिरे र सीमा सुरक्षा बलका निमित्त कार्यालय प्रमुख विष्णु प्रसाद भट्ट सहभागी थिए। निकायमा प्रमुख समक्ष हसुलियाका नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा एसएसविको दुव्र्यहार भोग्नुपरेको गुनासो गरेका छन्। 

दैनिक उपभोग्य बस्तुका लागि सीमावर्ती बजार चन्दन चौकी जाँदा समेत सहज रूपमा आवतजावत गर्न नपाएको र दुव्र्यहार खेप्नुपरेको साबिकको हसुलिया गाविसका अध्यक्ष हुम बहादुर गुरुङले गुनासो गरे। 
सर्वसाधारणले मात्रै होइन जनप्रतिनिधिहरूले सुरक्षा चुनौती बढेको गुनासो गरे। कैलारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरीले गाउँपालिका पर्याप्त प्रहरी चौकी नहुँदा सुरक्षा चुनौती देखिन थालेको बताए। 

उनले बेलाबेलामा चन्दा आतंकले सताउने गरेको गुनासो गरे। कानुन निमार्णको प्रक्रिया चलिरहेका कारण केही समस्या भएको प्रदेश सभा सदस्य बिरमान चौधरीले बताए। उनले भदौ मसान्त सम्ममा केन्द्रले धेरै कानुन तयार गरिदिएपछि सहजता आउने अपेक्षा गरे। 

कैलारी गाउँपालिकाका, ६ की सुकुनी चौधरीले भूगोल ठुलो भए पनि पर्याप्त मात्रामा सुरक्षा निकायको उपस्थिति हुन नसकेको भन्दै आक्रोश पोखिन। स्थानीम रामदाश चौधरीले शान्ति सुरक्षाको अनुभूति गर्नका लागि सुरक्षा निकायको उपस्थिति बढाउन माग गरे।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागुभएपनि समयमै मल, डिजेल पाउन नसकेको, स्थानीय तहले जनताको ढाड सेक्ने गरी कर बढाएको गीता चौधरीले आरोप लगाइन।

नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउन र ग्रामीण क्षेत्रको अवस्था बुझ्न गाउँ केन्द्रित प्रहरी कार्यक्रम लागु गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। 
सर्वसाधारणले सुरक्षा चुनौती थपिएको गुनासो गरेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले यसको समाधानको लागि तत्काल ठोस कदम चालिने बताएका थिए। 

आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी, स्थानीय बासी र स्थानीय सरकार बिच सहकार्य हुनुपर्ने उनले बताए। पर्याप्त प्रहरी नहुँदा यस क्षेत्रबाट चोरी तस्करी समेत बढिरहेको छ। त्रिनगर, भजनी र फुलबारी सँगै अब खक्रौला, र पवेरामा समेत सशस्त्र प्रहरीको सक्रियता बढाइने सुरक्षा नियालले जनाएको छ। 

जनताका समस्या र बस्तुस्थित बुझेर नयाँ सुरक्षा योजना बनाउने उदेश्यका साथ प्रत्येक शनिवार जनताको गाउटोलमा पुग्ने अभियान प्रशासनले संचालन गरेको हो। यस अघि चुरे गाउँपालिका र जानकी गाउँ पालिकामा जिल्ला प्रशासन कार्यालयले अन्तरक्रिया गरिसकेको छ।