गहना लुट्न तीन महिलाको हत्या, भारतीय नागरिक पक्राउ

गहना लुट्न तीन महिलाको हत्या, भारतीय नागरिक पक्राउ

रुपन्देही । गहना लुट्न अर्घाखाँची, गुल्मी र कपिलवस्तुका तीन महिलाको हत्या गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।

विभिन्न चरणमा शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापा यी दम्पतीले हत्या गरेको प्रमाण भेटिएपछि उनीहरूको खोजी भएको थियो ।

यसअघि उनीहरूले नै कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीया जीवकला थापा र असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको प्रमाण रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताएका छन् ।

श्रीमतीसँग मिलेर हत्या गरेको सुशान्तले बताएपछि उनकी श्रीमती शितगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख रिजालले बताए ।