‘भारतले अस्थायी तटबन्ध पूर्ण हटाओस्, त्यो नभए नेपाली माटो हटाउने कार्य स्वीकार्य छैन’

‘भारतले अस्थायी तटबन्ध पूर्ण हटाओस्, त्यो नभए नेपाली माटो हटाउने कार्य स्वीकार्य छैन’

दार्चुला: खलंगा पारी महाकाली नदी किनारमा भारतले पक्की तटबन्ध बनाइरहेको छ । भारतले नदी किनारैमा अस्थायी संरचना निर्माण गरेर नदीको वहाव नेपालतर्फ फर्काउदै काम गरिरहेको छ । जसले महाकाली नदी नेपालतिर सोझिएको छ । स्थानीय जनताले यस विषयमा पटक पटक प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराइ सकेका छन् । बेलाबेला दुबै देशका स्थानीय प्रशासनले भेटघाट, छलफल तथा बैठक गर्दा पनि स्थानीय जनताको माग सम्बोधन हुन सकेको छैन् । 

भारतले अन्तर्राष्ट्रिय सीमा नदीको मूल्य, मान्यता तथा मापदण्ड विपरीत निर्माण कार्य गरिरहेकोप्रति यहाँका स्थानीयहरुले विरोध गर्दै आइरहेका छन् । गत मंसिर २१ गते नेपाल र भारतीय प्रशासन बीच नदी किनारमा खडा गरिएको अस्थायी तटबन्ध १० दिनभित्र हटाउने सहमति बनेको थियो । त्यसको एक महिना बित्दासमेत भारतले उक्त अस्थायी तटबन्ध हटाएको छैन् । 

अहिले नेपालतर्फ पनि तिंकर सडकले मेसिनरी वाल हालिरहेको छ । साथै  सो क्षेत्रमा नेपालतर्फपनि तटबन्ध निर्माणको कार्य थालिने जनाइएको छ । दार्चुला प्रशासनले भारतको माग बमोजिम बंगाबगर क्षेत्रको ढुंगामाटो हटाउने तयारी थालेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । भारतले उक्त तारजालीसहितको ढुङ्गा र माटो थुपारिएको संरचना नहटाउँदा बांगाबगरका स्थानीयले बिहीवार पुनः जिल्ला प्रशासन दार्चुलामार्फत नेपाल सरकारलाई ज्ञापन बुझाएका छन् । बांगाबगरका ३३ स्थानीयले हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।  

उनीहरुले पूर्वसर्त बमोजिम छाङ्गरु स्कुल क्षेत्रदेखि पुलघाटसम्मको क्षेत्रमा भारतीय पक्षले नदीमा थुपारि राखेको ढुंगामाटो पूर्ण रुपमा हटाउनु पर्ने माग गरेका छन् । त्यो नहुँदासम्म छाङ्गरु स्कुल क्षेत्रदेखि माथि दशरथनगरसम्म नेपालतर्फको ढुंगामाटो हटाउने कार्य गर्न नदिने बताएका छन् । 

यस्तै, छाङ्गरु स्कुलदेखि पुलघाटसम्मको नेपालतर्फको तटबन्ध कमजोर रहेको भन्दै सो तटबन्ध मर्मत सम्भारको माग स्थानीयले अघि सारेका छन् ।