साथीहरूले गरगहना धितो राखेर पनि मलाई सर्पोट गरेका छन् : शाह (अन्तर्वार्ता)

साथीहरूले गरगहना धितो राखेर पनि मलाई सर्पोट गरेका छन् : शाह (अन्तर्वार्ता)

झण्डै दुई दशक बेलायत(यूके)मा अध्ययनसँगसँगै काम गरेर फर्किएका उमेशविक्रम शाहले धनगढीमा खेलेको सौराईं स्वायर पार्टी प्यालेस अहिले धेरैको रोजाई बन्न थालेको छ । पार्टी प्यालेससँगै फुटसल र रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएर उनले नयाँ अवधारणाको सुरुवात गरेका छन् । शाहसँग रेडियो धनगढीका योगेन्द्र भण्डारीले उनको विगत, वर्तमान र भविष्यका बारेमा गरेको कुराकानीको सम्पादित अंश 

बेलायत किन र कहिले जानुभयो?
मैले २००१ को डिग्री सकेर युके चाहिँ पढाई अगाडि बढाउँन गए । त्यहाँ पनि मैले पढाई गरे ।  बसाई चाहिँ लामै भयो । करिब १८–२० वर्ष बसेर फेरी नेपाल फर्किएको छु ।
राम्रै अनुभव रह्यो त्यहाँ सबै कामलाई समान रूपमा हेरिन्छ । सबै काम गर्नेलाई त्यतिकै मान मर्यादा र इज्जत गर्ने गरिन्छ । कलेजका समयमा सुरुवातमा धेरै काम र दुःख गरियो । पछि बिस्तारै खुटकीला चढे र बिस्तारै सफलता मिल्यो । 

नेपालीले त्यहाँबाट के सिक्नुपर्ने अनुभव गर्नुभयो?
कुनै पनि काम सानो ठुला हुँदैन । हरेक काम समान हुन्छ  । विभिन्न मानिसका काम र जिम्मेवारी फरक भएपनि काम इज्जत र सम्मान भने दिनुपर्छ भन्ने हो । कामलाई इज्जत गर्ने हो काम सानो ठुलो हुँदैन भन्ने कुरा सिक्न जरुरी छ जस्तो लाग्छ उनीहरूबाट ।
नेपालमा कलेज पढ्दा खेरी अरू बेला आफ्ना परिवारको सर्पोटमा बसेका हुन्छौ भने तर युकेमा आफैँले गरिरहेका हुन्छन् । उता गाह्रो पर्दा सरकारले सहयोग गरिरहेको हुन्छ भने यता त्यस्तो हुदैन् । यता सरकारको सर्पोट भन्दा पनि परिवारको सर्पोट हुन्छ । उता मानिसहरू कामलाई सानो ठुलो भन्दैनन् । यही फरक छ ।

त्यहाँ सिस्टमले जानुभयो भने राम्रो कामको व्यवस्था छ । रोजगारको व्यवस्था छ । त्यहाँको सबै कुरा नियममा चलेको छ । यहाँ बनाइएका नियम पालना र कार्यान्वयन हुँदैन । नेपालमा पनि राम्रो सिस्टम र एकले अर्कालाई सर्पोट गर्ने भए सायद मानिसहरू जति लगानी गरेर विदेश जान्छन् त्यति लगानी गरेर यही नै बस्थे होला । अझै पनि नेपालमा राम्रो छ । तर यहाँका सिस्टम हरू राम्रो हुन जरुरी छ । 

नेपाल फर्कने सोच कसरी बन्यो?
एक्कासी होइन तर सानैमा म होस्टेल बसेर पढे त्यसपछि ग्र्याजुएट काठमाडौँमा गरे र त्यसपछि म विदेश गए । त्यसैले मलाई लाग्थ्यो आफ्नो देशमा केही गर्न पाए हुन्थ्यो । बच्चाहरू पनि भए । उनीहरूलाई पनि नेपालको आफ्नो रहन सहन कल्चर कस्तो छ भनेर कहाँ बाट आएका हौ भन्ने कुरा सिकुन् जस्तो लाग्थ्यो मनमा । उनीहरूलाई हाई स्कुल पुगि सकेपछि नेपाल आउन गाह्रो हुन्थ्यो । त्यही भएर ४–५ वर्ष नेपालमै आएर पढे पनि आफ्नो परिवारलाई चिनजान हुन्छ । यहाँको बारेमा थाहा हुन्छ र नेपाललाई भुल्दैनन् भन्ने लागेर यहाँ आउने सोच बनाए । अनि सानोमा आफू पनि बुवा आमासँग बस्न नपाएको हुँदा पनि बिचबिचमा म नेपाल आइराख्थे । पछि नेपालमा के गर्न सकिन्छ त भनेर मैले एउटा सोच बनाए । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो । सबैभन्दा ठूलो उपमहानगरपालिकामा केही गरौंन भन्ने सोच बनाए । धनगढीमै केही गर्न भन्ने लागेर र यहीकै मानिसहरूले काम पाउँछन् थारै भएपनि जस्तो लाग्यो र यही कामको सुरुवात गरे । 

पार्टी प्यालेसको सोच पहिलै थियो कि यही आएपछि बन्यो?
धनगढीमा राम्रो पार्टी प्यालेस बनाउनुपर्छ र यहाँका ग्राहकले पनि राम्रो सेवा सुविधा पाउनुपर्छ भन्ने लागेर पार्टी प्यालेस खोले । ग्राहकलाई राम्रो सर्भिस दिनलाई पनि पार्टी प्यालेस नै रोजेको हुँ ।

मेरो प्लान अनुसार ढिलै चल्छ होला जस्तो लाग्थ्यो । मेरो सौराई स्क्वायर भएको ठाउँमा सुरुमा बाटो पनि थिएन । पछि बाटो बन्यो । सुरुमा कोभिडका २ वर्ष गाह्रो भयो । जनतालाई चाहिने सेवा दियो भने चल्छ । त्यस्तो गाह्रो छैन । तर हामीले उहाँहरूलाई चाहिने सेवा दिन सक्यौ भने सहज हुन्छ । 

कोभिडको समयमा लगानी जुटाउँन गाह्रो भएन?
कोभिडको बेला बैङ्कको काम पनि सबै रोकियो । त्यसपछि मेरा आफन्त चिने जानेका साथी भाइहरूले सहयोग गर्नुभयो । कतिपय साथीहरूले आफ्नो गरगहना धितो राखेर पनि मलाई सर्पोट गर्नुभएको छ । यदि उहाँहरूले मलाई साथ र सर्पोट गर्दैनन् थिए भने आज म यहाँ हुँदैन थिए होला र आज म युके नै फर्किसकेको हुन्थे होला ? म भाग्यमानी नै हुँ जो मैले यस्ता साथीहरू पाए यति साथ सहयोग पाए । म उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु । उहाँहरूले गर्दा नै आज सौराई स्क्वायर छ र म पनि छु । 

सोचे अनुरुप व्यवसाय अघि बढेको छ त?
राम्रै प्रतिक्रिया आइरहेको छ । रेस्टुरेन्ट र अन्य क्षेत्रमा राम्रो प्रतिक्रिया आउँछ । ग्राहक पनि राम्रै आइराख्नु भएको छ । पछिल्लो केही अघि नयाँ वर्षको कार्यक्रम पनि गरेका थियौ । राम्रो भएको थियो । शुक्रवार र शनिवार राम्रै हुन्छ । 
मैले पनि पूरै समय दिइरहेकै हुन्छु । बिहान देखि राती १ दुई बजे सम्म पनि खटिरहेकै हुन्छु । पुरै समय नै म यसमा लागि रहेकै छु ।

तपाई कानुनको विद्यार्थी वकालततिर किन नलाग्नुभएको?
नेपालमा वकालत त गरेको थिए । केही वर्ष काम पनि गरे । त्यसपछि म विदेश गएपछि त्यसलाई निरन्तरता दिन सकेन । मैले अरू नै पेसा गरे । जे पढ्यो त्यही गर्नुपर्छ भन्ने छैन । जुन काम गरे पनि त्यो राम्रो गर्नुपर्छ भन्ने हो । अहिले म रेस्टुरेन्ट भएको छु ।

तपाईजस्तै विदेशबाट फर्केर आफ्नै देशमा केही गर्न चाहनेलाई के सुझाव दिनुहुन्छ?
उनीहरू यहाँ फर्किएपछि के गर्ने भन्ने कुरा पनि निश्चित हुनुप¥यो । त्यतिकै कोही पनि आउँदैनन् । उनीहरूलाई यतै राम्रो व्यवस्था हुनुपर्छ । काम दिन्छु आउनुस् भने जस्तो सहज यहाँ छैन । सिस्टम चाहिँ चेन्ज गर्नु पर्छ । नयाँ सरकारले उचित प्रोसेस गर्नुपर्छ । यही टिकाउने हो भने उहाँहरूलाई सुलभ दरमा कर्जादेखि लिएर अन्य कुरामा सहयोग हुनुपर्छ ।