आज प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने

आज प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिने भएका हुन्।

यही पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डल सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए।

पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।

विशेषगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका हुन्।

केही सचिव र विभागका प्रमुखले आआफ्ना विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ।