विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ ।
दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाइ छ ।
विश्वभरबाट संकलित प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो, डब्लुएचओले भनेको छ । विगत दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ ।
डब्लुएचओको वक्तव्यमा भनिएको छ, संकलित तथ्यांक प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई संकेत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ ।
यस वर्ष विश्वका १७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १६३ देशको तथ्यांकमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो ।
हावाबाट सङ्क्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरू उठ्ने गर्छ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्छ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करीब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् ।